काठमाडौं । नेपाल वायुसेवा निगमको नयाँ दिल्ली पुगेको न्यारोबडी जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भारतमै रोकिएको छ।
सोमबार काठमाडौंबाट दिल्ली पुगेको उक्त जहाजले १३३ यात्रु लिएर सोही दिन काठमाडौं फर्किनुपर्ने तालिका भए पनि प्राविधिक गडबडीका कारण निर्धारित उडान हुन सकेन।
नेपाल वायुसेवा निगमका अनुसार जहाजको ककपिट भ्वाइस रेकर्डर ९सीभीआर० मा समस्या देखिएको हो। निगमका प्राविधिक प्रवक्ता दिपेन्द्र पुनले ककपिट भ्वाइस रेकर्डरमा देखिएको समस्याको मर्मत वा आवश्यक परे स्पेयर पार्ट्स परिवर्तन गर्ने विषयमा प्राविधिक टोलीले अध्ययन गरिरहेको जानकारी दिएका छन्।
समस्या सामान्य मर्मतबाट समाधान हुने वा पूरै युनिट नै प्रतिस्थापन गर्नुपर्ने भन्नेबारे प्राविधिक मूल्याङ्कन भइरहेको उनले बताए।
निगमले दिल्लीमा जहाजको प्राविधिक मर्मतसम्भारका लागि एयर इन्डियासँग सहकार्य गर्दै आएको छ। सोही व्यवस्थाअनुसार अहिले एयर इन्डियाका प्राविधिकसँग मिलेर जहाजको परीक्षण र मर्मत कार्य भइरहेको निगमले जनाएको छ।
उक्त जहाजले आरए–२१७ उडानमार्फत काठमाडौंबाट दिल्ली पुगेको थियो भने आरए–२१८ उडानमार्फत १३३ यात्रु लिएर काठमाडौं फर्किनुपर्ने तालिका रहेको थियो। तर प्राविधिक समस्या समाधान नभएसम्म जहाज उडाउन नमिल्ने भएकाले यात्रुहरू प्रभावित भएका छन्।
जहाज दिल्लीमै रोकिएपछि मंगलबार बिहानका लागि तय गरिएको काठमाडौं–दिल्ली उडानसमेत प्रभावित हुन सक्ने देखिएको छ। प्रभावित यात्रुको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा भने निगमले अझै अन्तिम निर्णय गरिसकेको छैन।
वैकल्पिक जहाज परिचालन गर्ने वा अन्य विमान कम्पनीमार्फत यात्रुलाई गन्तव्यसम्म पुर्याउने विकल्पबारे निगमभित्र छलफल भइरहेको बताइएको छ।
हाल नेपाल वायुसेवा निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा न्यारोबडी र दुईवटा वाइडबडी जहाज सञ्चालनमा छन्। तीमध्ये एउटा वाइडबडी जहाज मर्मतका लागि काठमाडौंमै ग्राउन्डेड रहेकाले अन्तर्राष्ट्रिय उडान व्यवस्थापनमा निगममाथि थप दबाब परेको छ।
यस्तो अवस्थामा अर्को जहाजमा प्राविधिक समस्या देखिँदा निगमको नियमित अन्तर्राष्ट्रिय उडान तालिका प्रभावित हुने अवस्था सिर्जना भएको छ।