काठमाडौं । सरकारले देशको निर्यात व्यापार बढाउन अदुवा, छुर्पी र गलैँचाको निर्यातका लागि विशेष रणनीति बनाउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नेपाल व्यापार एकीकृत रणनीति (एनटिसिएस) २०८० अन्तर्गत उच्च सम्भावना भएका यी तीन वस्तुको छुट्टाछुट्टै निर्यात रणनीतिको मस्यौदा तयार भइसकेको जानकारी दिएकी हुन्।
आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री गौरी कुमारीले यस्तो बताएकी हुन्।
सरकारले स्वदेशी उत्पादनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन निर्यातमुखी नीतिगत योजनामा काम गरिरहेको उनले स्पष्ट पारिन्।
यसका साथै, मन्त्री गौरी कुमारीले नेपालका प्रमुख परम्परागत निर्यातजन्य वस्तु चिया र अलैँचीको भण्डारण तथा गुणस्तर कायम राख्न वेयरहाउस (भण्डारण गृह) निर्माण गर्ने कार्य अघि बढेको समेत जानकारी दिइन्।
यसका लागि आवश्यक बजेट र स्रोत सुनिश्चित भइसकेको उनले संसद्मा बताइन्।