काठमाडौं । आत्मदाह गरेर उपचारका क्रममा निधन भएका मुगु सोरु गाउँपालिका-१ का युवा गणेश नेपालीको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मुगुले निष्पक्ष छानबिन गर्न माग गरेको छ।
काठमाडौंमा राइड सेयरिङ ‘पठाओ’ मार्फत परिवारको गुजारा चलाउँदै आएका श्रमजीवी युवाले महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने क्रममा उत्पन्न तनावका कारण आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था आउनु अत्यन्तै विडम्बनापूर्ण र विचलित बनाउने विषय भएको जारी विज्ञप्तिमा उल्लेख छ।
कुनै पनि नागरिकलाई आफ्नै शरीरमा आगो लगाउनेसम्मको आत्मघाती निर्णय लिन बाध्य पार्ने परिस्थितिको गम्भीर छानबिन हुन जरुरी रहेको रास्वपाको माग छ। ‘यस घटनाको पृष्ठभूमि र कारणहरूको निष्पक्ष एवं सत्य-तथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न र पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति तथा न्यायको ग्यारेन्टी गर्न राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय प्रशासन र नेपाल सरकारसँग जोडदार माग गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
