काठमाडौं । हरेक चार वर्षमा आयोजना हुने फिफा विश्वकप केवल विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता मात्र होइन, यो विश्वकै सबैभन्दा ठूलो खेल व्यवसाय पनि हो।
विश्वकप केवल मैदानमा खेलाडीहरूको गोलको वर्षामा मात्र सीमित छैन, यो अर्बौँ डलरको आर्थिक कारोबार पनि हो। विश्वभरका करोडौँ दर्शक, सयौँ प्रायोजक, टेलिभिजन प्रसारण अधिकार र टिकट बिक्रीले विश्वकपलाई फिफाको सबैभन्दा ठूलो आम्दानीको स्रोत बनाएको छ।
फिफा कुनै नाफा कमाउने व्यावसायिक प्राइभेट लिमिटेड वा पब्लिक कम्पनी होइन। प्राविधिक र कानुनी रूपमा यो एक अन्तर्राष्ट्रिय गैर – नाफामूलक संस्था हो। यो विश्वभरिको फुटबल, बिच सकर र फुटसल खेललाई नियन्त्रण, नियमन र सञ्चालन गर्ने सर्वोच्च संस्था हो।
त्यसैले अन्य कम्पनीहरू जस्तो यसले कमाएको नाफा कुनै निश्चित मालिक वा सेयरधनीहरूलाई लाभांशको रूपमा बाँड्न पाउँदैन। विश्वकप र विभिन्न व्यावसायिक सम्झौताहरूबाट फिफाले अर्बौँ डलर कमाउने भए तापनि त्यो रकम फुटबलको विकास, पुरस्कार र खेल प्रवर्द्धनमै पुनर्लगानी गर्नुपर्ने हुन्छ।
फिफाको मुख्य केन्द्रीय कार्यालय स्विट्जरल्याण्डको जुरिच सहरमा रहेको छ। अहिले फिफाको अध्यक्ष ज्यानी इन्फान्टिनो हुन्। उनी सन् २०१६ देखि लगातार फिफाको नेतृत्व सम्हालिरहेका छन्। उनी स्विट्जरल्याण्डका नागरिक तथा पेसाले कानुन व्यवसायी हुन्।
कति कमाउँछ फिफाले ?
फिफाको वार्षिक प्रतिवेदनअनुसार २०२३ देखि २०२६ सम्म करिब १३ अर्ब अमेरिकी डलर आम्दानी गर्ने लक्ष्य राखेको छ। यसमध्ये सबैभन्दा ठूलो हिस्सा सन् २०२६ को विश्वकपबाट आउने अपेक्षा गरिएको छ। फिफाका अनुसार प्रसारण अधिकारबाट मात्रै करिब ४.२ अर्ब डलर, मार्केटिङ र प्रायोजनबाट २.८ अर्ब डलर तथा टिकट र आतिथ्य (हस्पिटालिटी) सेवाबाट करिब ३ अर्ब डलरभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ।
विश्वकपमा फिफाले ठूलो धनराशि आम्दानी गर्ने गर्छ। २०२२ मा कतारमा भएको विश्वकपमा फिफाले करिब ७.५ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको थियो, जुन इतिहासकै उच्च थियो।
यही आम्दानीबाट प्रतियोगिता सञ्चालन, पुरस्कार रकम, सदस्य राष्ट्रलाई अनुदान तथा फुटबल विकास कार्यक्रम सञ्चालन गरिन्छ। फिफाको वित्तीय चक्र चार वर्षमा आधारित भएकाले विश्वकप हुने वर्षमा आम्दानी र बचत दुवै उल्लेख्य रूपमा बढ्ने गर्छ।
विश्वकपबाट के आयोजक टिमलाई घाटा हुन्छ ?
फिफाले प्रत्यक्ष रूपमा नाफा कमाउने गर्छ, तर आयोजक देशहरूले भने फिफाको जस्तो प्रत्यक्ष नाफा कमाउँदैनन्। उनीहरूले स्टेडियम निर्माण, सुरक्षा, यातायात, विमानस्थल, होटल तथा पूर्वाधार विस्तारमा अर्बौँ डलर खर्च गर्नुपर्छ। कतारले २०२२ विश्वकपका लागि करिब २२० अर्ब अमेरिकी डलर बराबरको पूर्वाधार विकास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
यद्यपि, यो रकम विश्वकपका लागि मात्र नभई दीर्घकालीन राष्ट्रिय पूर्वाधार विकासमा पनि खर्च गरिएको थियो। विश्वकप आयोजना गर्नु तत्कालीन रूपमा फाइदाजनक व्यापार नभए पनि यो देशको दीर्घकालीन भविष्य, राजनीति, कूटनीति र पर्यटनका लागि गरिएको एउटा रणनीतिक लगानी हो। त्यसैले आयोजक देशहरूले यसमा घाटा सहेरै भए पनि खर्बौँ रुपैयाँ खर्च गर्छन्।
आगामी २०२६ को विश्वकप कुरा गर्दा आयोजकमध्ये क्यानडाको टोरन्टो शहरले मात्रै आफ्ना खेलहरू आयोजना गर्न करिब १ अर्ब क्यानेडियन डलर बराबर खर्च गरेको विवरण सार्वजनिक भएको छ। धेरै विश्लेषकका अनुसार प्रत्यक्ष आर्थिक लाभभन्दा पर्यटन, अन्तर्राष्ट्रिय प्रचार, रोजगारी सिर्जना र पूर्वाधार सुधारजस्ता अप्रत्यक्ष फाइदा आयोजक राष्ट्रले प्राप्त गर्छन्, जबकि प्रसारण अधिकार, प्रायोजन र टिकटबाट हुने मुख्य आम्दानी भने फिफाकै खातामा जान्छ।
कमाइलाई कहाँ खर्च गर्छ फिफाले
खर्बौँ कमाउने फिफाले आफ्नो कमाइलाई फुटबलमै लगानी गर्ने गर्छ। विश्वकपबाट प्राप्त आम्दानीको ठूलो हिस्सा फिफाले विश्वभर फुटबल विकासमा लगानी गर्ने दाबी गर्छ। त्यही नाफाबाट नै फिफा फरवार्ड प्रोग्राममार्फत सदस्य राष्ट्रहरूलाई मैदान निर्माण, प्रशिक्षण केन्द्र, युवा फुटबल, महिला फुटबल, प्रशिक्षक विकास, रेफ्री तालिम तथा प्रशासनिक क्षमता अभिवृद्धिका लागि आर्थिक सहयोग प्रदान गर्ने गर्छ। सन् २०२३ देखि २०२६ को अवधिमा मात्रै फिफा फरवार्ड प्रोग्रामका लागि करिब २।२५ अर्ब अमेरिकी डलर छुट्याइएको छ।
यसबाहेक प्रतियोगिता सञ्चालन, महिला विश्वकप, युवा प्रतियोगिता, क्लब विश्वकप, खेलाडी सुरक्षा, प्राविधिक विकास र नयाँ फुटबल परियोजनाहरूमा पनि अर्बौँ डलर खर्च गर्ने योजना रहेको फिफाको वार्षिक प्रतिवेदनमा उल्लेख छ। फिफाले विश्वभरका आफ्ना कार्यालयहरूमा कार्यरत कर्मचारीहरूको व्यवस्थापन, पारिश्रमिक र सेवा सुविधाहरूका लागि ठूलो रकम खर्च गर्ने गर्छ।
सन् २०२५ को वित्तीय प्रतिवेदन अनुसार फिफाको वार्षिक कुल कर्मचारी खर्च ३३ करोड ८४ लाख अमेरिकी डलर रहेको छ। सन् २०२४ मा यो खर्च करिब २२ करोड ९ लाख अमेरिकी डलर थियो। तर सन् २०२६ मा नयाँ ढाँचाको विश्वकप योजना हुनु र कर्मचारीहरूको जनशक्ति थपिएका कारण यो खर्चमा उल्लेख्य वृद्धि भएको फिफाले जनाएको छ।
यस खर्च अन्तर्गत कर्मचारीहरूको आधारभूत तलब, सामाजिक सुरक्षा कोष, र पेन्सन तथा अन्य सेवा सुविधाहरू समावेश हुन्छन्। फिफामा सबैभन्दा धेरै तलब अध्यक्षको हुन्छ। अध्यक्षले आधारभूत तलब बापत २६ लाख स्विस फ्राङ्क र बोनस तथा भत्ता बापत २२ लाख स्विस फ्राङ्क पाउने गर्छन्।
यसका अतिरिक्त प्राप्त हुने अन्य विशेष भत्ता र सुविधाहरू समेत जोड्दा अध्यक्षको कुल वार्षिक पारिश्रमिक करिब ४८ लाख देखि ६० लाख अमेरिकी डलर अर्थात् करिब ६४ करोड देखि ८० करोड नेपाली रुपैयाँको हाराहारीमा हुन आउँछ।