काठमाडौं । सबल कम्पनीको सेयर धितो राख्दा अब मूल्यको ८० प्रतिशतसम्म कर्जा पाइने भएको छ ।
राष्ट्र बैंकले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीको सबलताका आधारमा ८० प्रतिशतसम्म कर्जा पाइने व्यवस्था गरेको हो ।
हाल सबै कम्पनीका सेयरमा मूल्यको ७० प्रतिशतसम्म मात्रै कर्जा पाइने व्यवस्था छ । अब भने कम्पनीको सबलता विश्लेषण गरेर सेयर धितो कर्जा लिन चाहेको हकमा १० प्रतिशत थप कर्जा पाइने व्यवस्था गरिएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेखित विषयलाई राष्ट्र बैंकले निर्देशनमार्फत लागु गरेको छ ।
धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयरको धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको यस्तो कर्जामा धितो मूल्याङ्कन गर्दा नेप्सेबाट प्रकाशित पछिल्लो १८० कार्यदिनको अन्तिम मूल्यको औसत मूल्य वा सेयरको प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, सो मूल्यको बढीमा ७० प्रतिशत रकमसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था छ ।
तर, सूचीकृत संस्थाको सबलताको आधारमा कर्जा प्रवाहको लागि प्रडक्ट पेपर बनाउँदा मूल्याङ्कन गर्ने विधि अवलम्बन गर्नुपर्नेछ । सबलता मूल्याङ्कनको आधारमा उच्च मूल्याङ्कन हुने संस्थाको सेयरको कर्जा मूल्य अनुपात बढीमा १० प्रतिशत बिन्दुसम्म थप गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।