काठमाडौं । नेपाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई–सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ ।
नेपाल टेलिकमले शुक्रबारदेखि यो सेवाको शुभारम्भ गरेको हो । यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई–सिम लिन चाहने सेवाग्राहीले esim.ntc.net.np लगइन गरी त्यहाँ रहेको Apply for Lost/Damaged SIM मा क्लिक गरेपश्चात दिइएको निर्देशनअनुसार रजिस्ट्रर गरी आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ ।
सम्पूर्ण विवरण भरिसकेपश्चात ग्राहक स्वयं काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त सिमकार्ड लिन सकिन्छ । यसका लागि आवश्यक ५० रुपैयाँ काउन्टरमै तिर्ने र आफू उपस्थित हुन नसकेमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत फाराममै उल्लेख गर्नुपर्नेछ ।
प्रतिनिधिले आफ्नो परिचय खुल्ने कागजात समेत उपलब्ध गराउनु पर्नेछ । ग्राहकको गोपनीयता र आवश्यक सुरक्षाका लागि यी सबै व्यवस्था गरिएको हो ।
esim.ntc.net.np लगइन गरेर हाल हराएको वा बिग्रेको सिमको सट्टा नयाँ सिम लिन सकिने सुविधा थप गरिएको हो । यस पोर्टलअन्तर्गत नयाँ प्रिपेड ई–सिम लिन, फिजिकल सिमलाई ई–सिम बनाउन, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण केवाईसी अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत उपलब्ध छ ।