काठमाडौं । खर्च कटौती र मितव्ययिताको नीति भन्दै अघिल्लो सरकारले हटाएको सांसदहरूको स्वकीय सचिव राख्ने सुविधा नयाँ सरकारले पुनः खुला गरेको छ ।
सुविधा पुनः उपलब्ध भएसँगै संघीय तथा प्रदेश सांसदहरू स्वकीय सचिव नियुक्त गर्ने तयारीमा जुटेका छन् ।
गत सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै सांसदहरूले स्वकीय सचिव राख्न पाउने व्यवस्था पुनः लागू गरिएको हो । अब सांसदहरूले स्वकीय सचिव नियुक्त गरी त्यसको जानकारी संघीय संसद् सचिवालयलाई गराउन सक्नेछन् ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार सांसदहरूले स्वकीय सचिव नियुक्त गरेपछि सचिवालयलाई जानकारी गराएमा आवश्यक व्यवस्थापन सचिवालयले गर्नेछ । स्वकीय सचिव नियुक्तिको विषयमा विगतमा विवाद उत्पन्न भएकाले राजनीतिक दलहरूले यसपटक योग्यता, नियुक्तिको मापदण्ड र आन्तरिक कार्यविधि तयार गर्ने तयारी गरेका छन् ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड बनाउने काम भइरहेको र छिट्टै टुंगो लाग्ने बताइन् । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि विगतका विवाद दोहोरिन नदिने गरी स्वकीय सचिव नियुक्तिको मापदण्ड बनाउने तयारी गरेको छ ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले यस विषयमा संसदीय दलको बैठकमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।
उनका अनुसार स्वकीय सचिव कानुन निर्माणमा सांसदलाई सहयोग गर्न सक्ने तथा सूचना प्रविधिमा समेत दक्ष व्यक्तिलाई नियुक्त गर्ने गरी मापदण्ड बनाउने तयारी छ । सांसदहरूको कामलाई प्रभावकारी बनाउन सहयोग पुग्ने गरी स्वकीय सचिव छनोट गरिने उनको भनाइ थियो ।
नेपालको संघीय संसद्मा प्रतिनिधिसभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी कुल ३३४ सांसद छन् । त्यस्तै, सातवटै प्रदेशसभामा ५५० सांसद छन् । संघ र प्रदेश गरी कुल ८८४ सांसद छन् ।
नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सांसदका स्वकीय सचिव राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरहका कर्मचारी हुनेछन् । उनीहरूले शाखा अधिकृतको सुरु तलब स्केलअनुसार पारिश्रमिक पाउनेछन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूचना अधिकारी विवेक घिमिरेका अनुसार पछिल्लो तलबमानअनुसार शाखा अधिकृतको सुरु तलब ४८ हजार ५७ रुपैयाँ छ ।
यसअनुसार संघ र प्रदेशका सबै ८८४ सांसदले एक–एक जना स्वकीय सचिव नियुक्त गरेमा राज्यलाई मासिक करिब ४ करोड २४ लाख रुपैयाँभन्दा बढी आर्थिक भार थपिनेछ । वार्षिक रूपमा यो रकम ५० करोड ९७ लाख ८८ हजार ६५६ रुपैयाँ पुग्नेछ ।
सांसदहरूको पाँच वर्षे कार्यकाललाई आधार मान्दा स्वकीय सचिवको तलबमा मात्रै राज्यको करिब २ अर्ब ५४ करोड ६९ लाख रुपैयाँभन्दा बढी खर्च हुने देखिन्छ । सभामुख र राष्ट्रिय सभा अध्यक्षका प्रमुख स्वकीय सचिवले भने नेपाल सरकारको राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीसरह सवारी तथा इन्धन सुविधा पाउने व्यवस्था गरिएको छ ।
यसअघि सुशीला कार्की नेतृत्वको सरकारले अनुत्पादक खर्च कटौती तथा मितव्ययिता कायम गर्ने नीति अघि सार्दै सांसदहरूको स्वकीय सचिवको सुविधा हटाएको थियो ।
२०७२ असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने निर्णय गरेको थियो । उक्त निर्णय संघीय सरकारका मन्त्रालय तथा निकायसँगै प्रदेश सरकार र स्थानीय तहमा समेत लागू गर्ने भनिएको थियो ।
सोही निर्णयका आधारमा संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७३ को अनुसूचीमा हेरफेर गर्दै सांसदहरूको स्वकीय सचिवको सुविधा हटाइएको थियो ।
ऐनको दफा २५ ले नेपाल सरकारलाई नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पदाधिकारी वा सदस्यलाई मर्का नपर्ने गरी अनुसूचीमा हेरफेर गर्न सक्ने अधिकार दिएको छ । यही अधिकार प्रयोग गर्दै सरकारले अनुसूची–२ को क्रमसंख्या २ र ३ मा संशोधन गरी सांसदहरूले पाउँदै आएको स्वकीय सचिवको सुविधा कटौती गरेको थियो ।
तर, उक्त निर्णयप्रति त्यतिबेलाका संघीय संसद्का पदाधिकारीहरूले असन्तुष्टि जनाएका थिए । पछिल्लो पटक निर्वाचित भएर आएका प्रतिनिधिसभा सदस्यहरूले समेत स्वकीय सचिवको सुविधा पुनः दिनुपर्ने माग उठाउँदै आएका थिए ।
यही पृष्ठभूमिमा सरकारले सांसदहरूलाई पुनः स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेपछि अब राजनीतिक दलहरूले आफ्नै मापदण्डअनुसार स्वकीय सचिव नियुक्तिको तयारी अघि बढाएका छन् ।