काठमाडौं । नाबालिग किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब (अण्डा) संकलन तथा कारोबार गराएको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले एक महिलालाई पक्राउ गरेको छ । यो घटनामा संलग्न भएको आशंकामा ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालका चिकित्सक सहित अन्य व्यक्ति माथि समेत प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार लमजुङ घर भई ललितपुरमा बस्दै आएकी २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरिएको हो । पीडित परिवारको जाहेरीका आधारमा पक्राउ परेकी गौतमलाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता समेत रहेका एसपी गौतम मिश्रले कर्पोरेट खबरसँगको कुराकानीमा किशोरीको डिम्ब संकलनका लागि बिचौलियाको भूमिका खेलेको आरोपमा एक महिलालाई पक्राउ गरिएको पुष्टि गरे ।
“हो, किशोरीको डिम्ब संकलन गर्न बिचौलियाको भूमिका खेल्ने एक जना महिलालाई पक्राउ गरेका छौँ । उनको स्थायी घर लमजुङ हो । यस विषयमा थप अनुसन्धान भइरहेको छ,” एसपी मिश्रले भने ।
यो घटनामा बी एन्ड बी अस्पतालकी वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं आईभीएफ विशेषज्ञ डा. नूतन शर्माको भूमिका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा गोतामेको माध्यमबाट नाबालिग किशोरीलाई ललितपुरको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरमा रहेको आईभीएफ केन्द्रमा पुर्याइएको देखिएको छ ।
किशोरीलाई डिम्ब उत्पादन बढाउने हर्मोनको इन्जेक्सन दिइएको र केही दिनपछि पुन: केन्द्रमा बोलाइएको अनुसन्धानबाट खुलेको छ । इन्जेक्सन लगाएपछि किशोरीको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि उनी परिवारको सम्पर्कमा पुगेकी थिइन् ।
परिवारले सोधपुछ गरेपछि मात्रै किशोरीले आफूलाई डिम्बदानका लागि आईभीएफ केन्द्रमा लगिएको जानकारी गराएको बताइएको छ । त्यसपछि परिवारले बिचौलियालाई सम्पर्क गरी घटनाबारे जानकारी गराएको थियो ।
प्रहरीका अनुसार किशोरीको स्वास्थ्य अवस्था बिग्रिएपछि बिचौलियाले उनलाई पुन: उपचारका लागि आईभीएफ केन्द्रतर्फ लगेकी थिइन् । तर, सम्बन्धित चिकित्सक त्यहाँ नभेटिएपछि टेलिफोन मार्फत घटनाबारे जानकारी गराइएको थियो । त्यसपछि पनि चासो नदिए पछि किशोरीको स्वास्थ्यमा थप सास्या देखिएको छ । स्वास्थ्य समस्या थप गम्भीर बनेपछि किशोरीलाई अन्यत्र लगेर उपचार गरिएको थियो ।
अनुसन्धानका क्रममा बिचौलिया गोतामेकोे बैंक खातामा चिकित्सकबाट रकम पठाइएको विवरण समेत फेला परेकोे छ । उक्त रकम र घटनाबीचको सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । प्रहरीले घटनामा संलग्नता पुष्टि भएमा सम्बन्धित सबै माथि कानुनी कारबाही अघि बढाउने जनाएको छ ।
प्रहरीका अनुसार पीडित पक्षले किशोरीलाई बी एन्ड बी अस्पताल परिसरमा रहेको आईभीएफ केन्द्रमा लगेर डिम्ब संकलन गरिएको थियो । घटनासँग सम्बन्धित प्रमाण संकलन गर्ने काम भइरहेको र अनुसन्धानबाट दोषी देखिने जोकोहीमाथि कानुनी कारबाही हुने प्रहरीको भनाइ छ ।
साथी र बिचौलियाको प्रलोभनमा किशोरी
पीडित किशोरीका अनुसार उनलाई सुरुमा आफ्नै साथीले डिम्बदान गर्दा केही नहुने र पैसा पनि पाइने भन्दै प्रलोभनमा पारेकी थिइन् ।
‘मैले पनि दुई–तीन पटक दिइसकेँ । यो महिनैपिच्छे आफैँ खेर जाने चिज हो । केही पनि हुँदैन, पैसा पनि आउँछ भनेर साथीले भनेकी थिइन्,’ किशोरीले भनेकी छन् ।
साथीको कुरा विश्वास गरेपछि उनी बिचौलियाको सम्पर्कमा पुगेकी थिइन् । बिचौलियाले समेत डिम्ब निकाल्दा शरीरमा कुनै असर नपर्ने र दुखाइ समेत नहुने भन्दै उनलाई डिम्बदानका लागि तयार गराएको किशोरीको भनाइ छ ।
त्यसपछि उनलाई ग्वार्कोस्थित बी एन्ड बी अस्पताल परिसरमा रहेको आईभीएफ केन्द्रमा लगिएको थियो । सुरुमा हर्मोनको इन्जेक्सन लगाइएको र केही दिनपछि डिम्ब संकलन गरिएको उनले बताएकी छन् ।
डिम्ब संकलनपछि भने आफ्नो स्वास्थ्यमा गम्भीर समस्या देखिएको किशोरीको भनाइ छ । अत्यधिक कमजोरीका कारण ढल्ने सम्मको अवस्था आएपछि परिवारले उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याएको थियो ।
किशोरीका अनुसार उनलाई सुरुमा ५० हजार रुपैयाँ दिने भनिए पनि ३० हजार रुपैयाँ मात्र दिइएको थियो । डिम्ब संकलनपछि स्वास्थ्यमा समस्या देखिएर उपचार गर्नुपरेपछि आफू आर्थिक र शारीरिक दुवै समस्यामा परेको उनको गुनासो छ ।
नाबालिगबाट डिम्ब संकलन कानुन र स्वास्थ्य मापदण्डविपरीत
सरकारले नि:सन्तान उपचार तथा आईभीएफ सेवालाई व्यवस्थित गर्न ‘नि:सन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ जारी गरेको छ । उक्त मापदण्ड अनुसार डिम्बदान गर्ने महिलाको उमेर २० देखि ३५ वर्षसम्म हुनुपर्ने व्यवस्था छ ।
डिम्बदान गर्नु अघि स्वास्थ्य तथा प्रयोगशाला परीक्षण गर्नुपर्ने, डोनरलाई तत्काल तथा भविष्यमा हुन सक्ने स्वास्थ्य जोखिमबारे जानकारी दिनुपर्ने र सुसूचित मञ्जुरी लिनुपर्ने व्यवस्था पनि मापदण्डमा गरिएको छ ।
त्यस्तै, एक महिलाले जीवनमा बढीमा ६ पटकसम्म मात्र डिम्बदान गर्न पाउने र प्रत्येक डिम्बदानबीच कम्तीमा तीन महिनाको अन्तर हुनुपर्ने व्यवस्था छ ।
तर, पछिल्लो घटनामा १६/१७ वर्ष उमेरकी नाबालिग किशोरीलाई आर्थिक प्रलोभनमा पारेर डिम्ब संकलन गरिएको आरोप लागेको छ । यसले विद्यमान कानुन तथा सरकारले बनाएको स्वास्थ्य मापदण्डको कार्यान्वयनमाथि समेत गम्भीर प्रश्न उठाएको छ ।
१० हजारको लोभ देखाएर लाखौँको कारोबार
प्रहरीको अनुसन्धानले आर्थिक अवस्था कमजोर भएका किशोरी तथा युवतीलाई लक्षित गरी बिचौलिया मार्फत डिम्बदानका लागि तयार गराउने गरिएको देखिएको छ । उनीहरूलाई निश्चित रकम दिने प्रलोभन देखाएर आईभीएफ केन्द्रसम्म पुर्याउने र डिम्बदान सम्बन्धी कागजातमा हस्ताक्षर गराउने गरिएको बताइएको छ ।
त्यसपछि डिम्ब उत्पादन बढाउन हर्मोनका इन्जेक्सन दिने गरिन्छ । निश्चित अवधिसम्म इन्जेक्सन दिएपछि औषधिको प्रभावबाट विकसित भएका डिम्बलाई चिकित्सकीय प्रक्रियामार्फत संकलन गरिन्छ ।
संकलित डिम्ब नि:सन्तान दम्पतीको उपचारमा प्रयोग हुने गर्छ । तर, अवैध कारोबारमा संलग्नहरूले डिम्बदान गर्ने महिलालाई न्यून रकम दिएर प्राप्त डिम्बबाट ठूलो रकम असुल्ने गरेको आरोप छ ।
यस अघि पनि नेपालमा आर्थिक रूपमा कमजोर महिलालाई प्रलोभनमा पारेर डिम्ब संकलन तथा कारोबार गरिएको आरोपमा अनुसन्धान भएको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २०८२ सालमा बबरमहलस्थित होप फर्टिलिटी एन्ड रिसर्च सेन्टर र महाराजगञ्जस्थित एन्जल फर्टिलिटी क्लिनिकसँग सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान गरेको थियो ।
सीआईबीको अनुसन्धानका क्रममा डिम्बदान गर्ने महिलालाई ८ देखि १० हजार रुपैयाँसम्म दिने र सोही डिम्बबाट २० लाख रुपैयाँसम्म असुल्ने गरेको तथ्य फेला परेको दाबी गरिएको थियो ।
अनुसन्धानपछि सीआईबीले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ अनुसार केही चिकित्सक तथा अन्य व्यक्तिविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीको कार्यकालमा महान्यायाधिवक्ता सबिता भण्डारी मार्फत डिम्ब तस्करीसम्बन्धी मुद्दा नचलाउने निर्णय भएको थियो ।
तत्कालीन महान्यायाधिवक्ता भण्डारीको आफ्नै लगानी रहेको भनिएको होप फर्टिलिटी एन्ड रिसर्च सेन्टरसमेत जोडिएको उक्त प्रकरणमा मुद्दा नचलाउने निर्णय भएपछि त्यसलाई लिएर प्रश्न उठेको थियो ।
अहिले फेरि नाबालिग किशोरीलाई नै लक्षित गरी डिम्ब संकलन तथा कारोबार गरिएको आरोपमा नयाँ घटना सार्वजनिक भएपछि नेपालमा आईभीएफ सेवा, डिम्बदान प्रक्रिया र यसको नियमनमाथि थप गम्भीर बहस सुरु भएको छ ।
प्रहरीले भने पछिल्लो घटनामा संलग्न सबै व्यक्तिको भूमिका अनुसन्धानबाट खुल्ने र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।