हिजो राति सुनसरीमा सामान्य विवादबाट सुरु भएको घटनाले भयावह रूप लिँदा एक जनाको गोली लागेर मृत्यु भएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्। एउटा सामान्य विवाद कसरी यति हिंसात्मक अवस्थामा पुग्यो भन्ने विषयको निष्पक्ष छानबिन हुन आवश्यक छ। कुनै पनि परिस्थितिमा गोली प्रहार गरी नागरिकको ज्यान जानु अत्यन्त दुःखद र दुर्भाग्यपूर्ण घटना हो।
यस्तो विषम परिस्थितिको समाधान हत्या, हिंसा वा बल प्रयोगबाट होइन, शान्ति, संयम, संवाद र विवेकबाट खोजिनुपर्छ। प्रत्येक घटनामा सुरक्षा निकायबाट अत्यधिक बल प्रयोग हुने प्रवृत्तिप्रति गम्भीर समीक्षा आवश्यक छ। शान्तिपूर्ण वार्ता र संवादका माध्यम सधैँ खुला राखिनुपर्छ।
समाजलाई भाइचारा, सद्भाव र पारस्परिक सम्मानले जोड्न सकिन्छ। अहिंसा र मित्रवत व्यवहारमार्फत संवादको संस्कृतिलाई बलियो बनाउँदै राष्ट्रिय स्वाभिमानको परिचय दिनुपर्छ। हिंसाको बाटो कहिल्यै पनि दिगो समाधान हुन सक्दैन।
राजनीतिक अस्थिरता र अन्योलको अवस्थामा देशभित्र अवाञ्छित तथा विध्वंसकारी तत्वहरू सक्रिय हुन सक्ने सम्भावना रहन्छ। यस्तो संवेदनशील अवस्थामा सेना तथा सम्पूर्ण सुरक्षा निकायले बन्दुक र गोलीभन्दा पनि जनविश्वास र मनोवैज्ञानिक विश्वास जित्ने भूमिका निर्वाह गर्नुपर्छ।
सरकारप्रति असन्तुष्ट शक्तिहरूले परिस्थितिको दुरुपयोग गर्ने प्रयास गर्न सक्छन्। त्यसैले सरकारले प्रतिशोधको भावनाभन्दा संयम, कानुनी शासन र जिम्मेवारीपूर्ण नेतृत्व प्रदर्शन गर्न आवश्यक छ।
आउनुहोस्, यो पावन भूमिमा अब एक थोपा रगत पनि नबग्ने सङ्कल्प गरौँ। सुरक्षाकर्मी पनि हाम्रै परिवारका सदस्य हुन्, असहमति वा विरोध गर्ने नागरिक पनि यही समाजका सदस्य हुन्। कोही पनि पराई होइन। सबै नेपाली मिलेर हाम्रो साझा फूलबारीलाई शान्त, सुरक्षित र एकताबद्ध राख्ने प्रण गरौँ