मलेसियाको अग्रणी अटोमोबाइल ब्रान्ड प्रोटोनले हालै आफ्नो बहुप्रतिक्षित विद्युतीय सवारी ‘प्रोटोन ईमास ५’ नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले यसको बिक्री तथा वितरण सुरु गरिसकेको छ ।
प्रोटोनको नेपाली बजारमा प्रवेशपछिको प्रारम्भिक प्रतिक्रिया, विद्युतीय सवारी साधनको बढ्दो प्रयोग, बिक्री पछिको सेवा, सरकारी नीति तथा कर व्यवस्था, नाइमा र नाडा अटो शो, साथै आगामी रणनीति लगायत विविध विषयमा कर्पोरेट खबरसँग जगदम्बा मोटर्सका वरिष्ठ महाप्रबन्धक (चारपांग्रे सवारी व्यवसाय) सुशील कुमार क्षेत्रीले खुला रूपमा आफ्नो धारणा राखे । प्रस्तुत छ, उनै क्षेत्रीसँग कर्पोरेट खबरले गरेको कुराकानीको सम्पादित अंश:
नेपालका लागि प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुई साताअघि मात्रै प्रोटोन ईमास ५ गाडी सार्वजनिक गरेको छ । यी दुई सातामा ग्राहकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
प्रोटोन ईमास ५ विश्व बजारमा टेस्लापछि धेरै बिक्री हुने विद्युतीय गाडीमध्ये एक हो । अन्तर्राष्ट्रिय बजारमा यसको सफलता प्रमाणित भइसकेको भए पनि नेपालको सडक, भौगोलिक अवस्था र ग्राहकको अपेक्षा अनुसार यसले कस्तो प्रदर्शन गर्ला भन्ने प्रारम्भिक चिन्ता हामीमा थियो ।
त्यसैले हामीले औपचारिक बिक्री सुरु गर्नु अघि करिब छ महिना सम्म तयारी गर्यौं । नेपालका सञ्चारकर्मी, अटो समीक्षक र डिजिटल इन्फ्लुएन्सरलाई मलेसियास्थित प्रोटोनको मुख्यालय र चीनको उत्पादन केन्द्रमा लगेर गाडीको प्रत्यक्ष परीक्षण गरायौं । हामीले उनीहरूलाई कुनै पूर्वाग्रह नराखी आफूले अनुभव गरेको वास्तविक समीक्षा सार्वजनिक गर्न आग्रह गरेका थियौं । उनीहरूबाट आएको सकारात्मक प्रतिक्रिया हाम्रो लागि ठूलो आत्मविश्वासको आधार बन्यो ।
त्यसपछि हामीले नेपालभर अनलाइन सर्वेक्षण मार्फत ग्राहकले यो गाडीको उपयुक्त मूल्य कति हुनुपर्छ भन्ने बुझ्यौं । साथै, औपचारिक सार्वजनिक कार्यक्रम अघि गोकर्ण फरेस्ट रिसोर्टमा पत्रकारहरूलाई टेस्ट ड्राइभको व्यवस्था पनि गर्यौं । त्यहाँबाट प्राप्त प्रतिक्रिया पनि निकै उत्साहजनक रह्यो ।
ग्राहकको अपेक्षा र बजारको अध्ययनका आधारमा हामीले प्रतिस्पर्धी मूल्य निर्धारण गर्यौं । सार्वजनिक भएपछि धेरैले यति धेरै फिचर भएको गाडी यस्तो मूल्यमा आउला भन्ने अपेक्षा गरेका थिएनन् । त्यसैले बजारबाट अत्यन्त सकारात्मक प्रतिक्रिया आयो ।
गाडी सार्वजनिक भएको तीन घण्टा भित्रै बुकिङ संख्या २५ बाट बढेर २०० नाघ्यो । हामीले बुकिङ रकम एक लाख रुपैयाँ राखेका थियौं, जसले वास्तविक र गम्भीर खरिद कर्ताको रुचि देखायो । अहिले पनि दैनिक नयाँ बुकिङ आइरहेका छन् । अहिले हाम्रो मुख्य चुनौती माग अनुसार समयमै गाडी उपलब्ध गराउनु हो ।समग्रमा, प्रोटोनले नेपाली ग्राहकको आवश्यकता र अपेक्षा अनुसारको उत्पादन बजारमा ल्याएको पुष्टि प्रारम्भिक प्रतिक्रियाबाट भएको छ ।
गाडी सार्वजनिक गर्नु अघि तपाईंहरूले मिडिया र अटो समीक्षकलाई मलेसिया र चीन लगेर परीक्षण गराउनुभयो, नेपालमै पनि टेस्ट ड्राइभ गराउनुभयो । तर आम उपभोक्ताको गुनासो के छ भने कम्पनीहरूले गाडी बेच्नु अघि ठूलो प्रचार गर्छन्, तर बिक्रीपछि सेवामा त्यति ध्यान दिँदैनन् । प्रोटोनमा पनि यही अवस्था लागू हुन्छ कि हुँदैन ?
हाम्रो हकमा यो धारणा लागू हुँदैन । किनभने हाम्रो प्राथमिकता गाडी बेच्नु मात्र होइन, बिक्री पछिको सेवा उत्कृष्ट बनाउनु हो । प्रोटोन ईमास ५ सार्वजनिक गर्नु अघि नै हामीले मिडिया, अटो समीक्षक र इन्फ्लुएन्सर मार्फत गाडीको वास्तविक परीक्षण गरायौं । यसको उद्देश्य विज्ञापन भन्दा पनि ग्राहकलाई तथ्यमा आधारित जानकारी उपलब्ध गराउनु थियो ।
त्यसै अनुसार, गाडी सार्वजनिक गरेको भोलिपल्ट नै भक्तपुरमा विश्वस्तरीय सेल्स तथा सर्भिस हब सञ्चालनमा ल्यायौं । त्यहाँ बिक्री, मर्मत र ग्राहक सेवा सम्बन्धी सम्पूर्ण सुविधा एउटै स्थानबाट उपलब्ध छन् । ग्राहकलाई बिक्री पछि कुनै समस्या आए त्यसको छिटो समाधान होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ।
त्यसका लागि हामीले गाडी बिक्री सुरु हुनु भन्दा करिब दुई महिना अघि नै आवश्यक स्पेयर पाट्र्सको पर्याप्त स्टक तयार गरेका थियौं । कुनै सवारी दुर्घटनामा परे वा प्राविधिक समस्या आए पनि लामो समय गाडी वर्कसपमा रोकिनु नपरोस् भन्ने हाम्रो तयारी हो ।
हामीले प्रचार–प्रसारमा पनि फरक दृष्टिकोण अपनाएका छौं । ठूला सेलिब्रिटी मार्फत अतिरञ्जित विज्ञापन गर्नुको सट्टा, वास्तविक ग्राहक र स्वतन्त्र समीक्षकको अनुभवलाई प्राथमिकता दिएका छौं । ग्राहकले आफैं गाडी चलाएर यसको गुणस्तर, सुरक्षा, प्रविधि र सुविधाबारे अनुभव गरून् र आफ्नै अनुभवका आधारमा प्रतिक्रिया दिऊन् भन्ने हाम्रो विश्वास हो ।
हाम्रो बुझाइमा विज्ञापन भन्दा ग्राहकलाई सही जानकारी दिनु र उत्पादनबारे शिक्षित बनाउनु बढी महत्त्वपूर्ण हुन्छ । जब ग्राहकले गाडीका सबै विशेषता बुझेर, टेस्ट ड्राइभ गरेर र बिक्री पछिको सेवा प्रणालीमा विश्वस्त भएर गाडी खरिद गर्छन्, तब उनीहरूको विश्वास पनि बलियो हुन्छ ।
त्यसैले हामीले पहिले सेवा पूर्वाधार निर्माण गरेका छौं, त्यसपछि मात्रै बिक्री विस्तार गरेका छौं । सायद यही कारणले अहिले प्रोटोन प्रति ग्राहकको विश्वास बढेको छ र बुकिङ पनि उत्साहजनक रूपमा बढिरहेको छ ।
प्रोटोनको पहुँच गाउँ–गाउँसम्म विस्तार गर्ने तथा गाडी खरिदपछि ग्राहकलाई सहज सेवा उपलब्ध गराउन देशभर कस्तो संयन्त्र तयार गर्नुभएको छ ?
हाम्रो पहिलो प्राथमिकता देशका प्रमुख बजार तथा आर्थिक केन्द्रहरूमा बिक्रीसँगै बिक्री पछिको सेवा पनि प्रभावकारी रूपमा उपलब्ध गराउनु हो । त्यसैले काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी लगायतका प्रमुख शहरमा बिक्री र आफ्टर–सेल्स सेवा विस्तार गरिसकेका छौं ।
त्यसका लागि हामीले रोडसाइड असिस्टेन्स सेवा विस्तार गर्ने योजना अघि बढाएका छौं । काठमाडौंमा २४ सै घण्टा सञ्चालन हुने विशेष सेवा भ्यान तयारी अवस्थामा छ । गाडीमा प्राविधिक समस्या आएमा आवश्यक उपकरण र स्पेयर पाट्र्स सहितको प्राविधिक टोली ग्राहकसम्म पुगेर सम्भव भएसम्म त्यहीँ मर्मत गर्नेछ । यदि स्थलमै मर्मत सम्भव नभए गाडीलाई सुरक्षित रूपमा वर्कसपसम्म ल्याउने व्यवस्था पनि हुनेछ ।
काठमाडौं उपत्यका बाहिर भने स्थानीय डिलर र सेवा साझेदार मार्फत यही सेवा उपलब्ध गराइनेछ । साथै, निकट भविष्यमा देशभर एउटै टोल–फ्री वा केन्द्रीय हेल्पलाइन नम्बर सञ्चालनमा ल्याउने तयारी पनि भइरहेको छ । ग्राहकले जुनसुकै स्थानबाट फोन गरे पनि काठमाडौंस्थित केन्द्रीय प्रणाली मार्फत सम्बन्धित क्षेत्रको सेवा केन्द्रमा जानकारी पुग्नेछ र आवश्यक सहयोग तत्काल उपलब्ध गराइनेछ । हाम्रो लक्ष्य गाडी बिक्रीमा मात्र सीमित नभई, देशभरका ग्राहकलाई समयमै भरपर्दो बिक्री पछिको सेवा उपलब्ध गराएर दीर्घकालीन विश्वास कायम गर्नु हो ।
अबको तीन वर्षमा प्रोटोनलाई नेपाली बजारमा कहाँ पुर्याउने लक्ष्य छ ?
हाम्रो लक्ष्य आगामी तीन वर्षभित्र प्रोटोनलाई नेपालको अटोमोबाइल बजारको शीर्ष तीन ब्रान्डभित्र स्थापित गर्नु हो । यदि त्यति पनि गर्न सकेनौं भने हाम्रो प्रयासले अपेक्षित परिणाम दिएको मान्न गाह्रो हुन्छ ।
तर हाम्रो उद्देश्य गाडी बिक्रीको संख्यामा मात्रै सीमित छैन । ग्राहकको मनमा ‘प्रोटोन भनेको भरपर्दो बिक्री पछिको सेवा दिने ब्रान्ड हो’ भन्ने विश्वास स्थापित गर्नु हाम्रो मुख्य प्राथमिकता हो । बिक्रीसँगै उत्कृष्ट आफ्टर–सेल्स सेवा, स्पेयर पाट्र्सको सहज उपलब्धता, रोडसाइड असिस्टेन्स र दीर्घकालीन ग्राहक सहयोगमार्फत हामी त्यो विश्वास जित्न चाहन्छौं ।
गाडी ग्राहकका लागि केवल यातायातको साधन मात्र होइन, भावनात्मक रूपमा जोडिएको सम्पत्ति पनि हो । त्यसैले ग्राहकले गाडी किनेपछि कम्पनीले पनि त्यही स्तरको जिम्मेवारी र साथ दिनुपर्छ भन्ने हाम्रो मान्यता छ ।
हामी ‘प्रोटोन फ्यामिली’ भन्ने अवधारणामा विश्वास गर्छौं । ग्राहकले प्रोटोन खरिद गर्नेबित्तिकै उनीहरू हाम्रो परिवारको सदस्य बन्नुहुन्छ, र त्यसपछि उहाँहरूको सन्तुष्टि तथा आवश्यकता प्रति हामी निरन्तर जिम्मेवार रहन्छौं । यही रणनीतिका साथ काम गरिरहेका छौं । त्यसैले आगामी तीन वर्षभित्र शीर्ष तीन ब्रान्डभित्र पुग्ने लक्ष्यप्रति हामी विश्वस्त छौं, र सम्भव भएसम्म बजारको अग्रस्थानमा पुग्ने प्रयास पनि जारी रहनेछ ।
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग तीव्र रूपमा बढिरहेको छ । तर सरकारले बेलाबेलामा ल्याउने कर तथा नीतिका कारण यो क्षेत्र प्रभावित हुने गरेको देखिन्छ । विद्युतीय सवारीसाधन र विद्युत्मा कर लगाउँदा यसको प्रभाव कस्तो पर्छ ?
नेपाल आयातमुखी अर्थतन्त्र भएको मुलुक हो । त्यसैले सरकार सञ्चालन र विकासका लागि कर अपरिहार्य हुन्छ । कर नलिई राज्य सञ्चालन सम्भव हुँदैन । तर विद्युतीय सवारी साधन (ईभी) को सन्दर्भमा यसको दीर्घकालीन आर्थिक प्रभाव पनि सँगसँगै हेर्न आवश्यक छ ।
आन्तरिक दहन इन्जिन सवारीमा गाडी मात्र होइन, सञ्चालनका लागि आवश्यक इन्धन पनि आयात गर्नुपर्छ । तर ईभीमा गाडी मात्रै आयात गरे पुग्छ, किनकि त्यसलाई चलाउन आवश्यक विद्युत् नेपालमै उत्पादन भइरहेको छ । त्यसैले आफ्नै उत्पादनको विद्युत् उपयोग गर्ने प्रविधिलाई प्रोत्साहन गर्नु उपयुक्त हुन्छ भन्ने मेरो धारणा हो ।
यही कारणले पनि नेपाल अहिले विद्युतीय सवारी साधनको प्रयोगका हिसाबले विश्वकै अग्रणी देशमध्ये एक बन्न सफल भएको छ । यसमा सरकारले विगत देखि अवलम्बन गरेको कर तथा प्रोत्साहनमुखी नीतिको पनि महत्वपूर्ण योगदान छ । यद्यपि, सरकारले करको संरचना पूर्ण रूपमा हटाउन सक्दैन । राज्य सञ्चालनका लागि राजस्व आवश्यक हुन्छ । त्यसैले कर लाग्नु स्वाभाविक हो । तर ईभीलाई प्रोत्साहन गर्ने गरी कर संरचना र अन्य सहुलियतलाई सन्तुलित रूपमा व्यवस्थापन गर्न आवश्यक छ ।
हाल ईभीमा आईसीई सवारीको तुलनामा कर कम भएकाले ग्राहकको आकर्षण पनि बढिरहेको छ । भविष्यमा करको संरचना परिवर्तन भए पनि ग्राहकले ईभीबाट प्राप्त हुने दीर्घकालीन लाभ—जस्तै कम सञ्चालन खर्च, कम मर्मत खर्च र वातावरणीय फाइदा—बुझिसकेका हुनेछन् ।
आगामी दिनमा हाइब्रिड, प्लग–इन हाइब्रिड र हाइड्रोजन प्रविधि जस्ता नयाँ विकल्पहरू पनि नेपाली बजारमा आउने सम्भावना छ । त्यसैले सरकारले दीर्घकालीन ऊर्जा तथा यातायात नीति अनुसार यस्ता प्रविधिलाई सन्तुलित रूपमा अघि बढाउने नीति बनाउनुपर्ने देखिन्छ ।
अहिले नेपालमा ईभीको कर प्रणाली मोटर क्षमता भन्दा पनि एफओबी मूल्यका आधारमा निर्धारण गरिएको छ । सस्तो मूल्यका आधारभूत मोडलमा कम कर र प्रिमियम मोडलमा बढी कर लाग्ने व्यवस्था छ । यसले आधारभूत आवश्यकता भएका ग्राहकलाई सहज पहुँच दिने र उच्च मूल्यका सवारीबाट बढी राजस्व संकलन गर्ने उद्देश्य राखेको देखिन्छ ।
समग्रमा, नेपालमै उत्पादन भएको विद्युत्को अधिकतम उपयोग गर्ने भएकाले विद्युतीय सवारीसाधनलाई सरकारले निरन्तर प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो विश्वास छ । दीर्घकालीन रूपमा यसले ऊर्जा आत्मनिर्भरता, विदेशी मुद्रा बचत र वातावरण संरक्षण—तीनै क्षेत्रमा सकारात्मक योगदान पुर्याउनेछ ।
नाइमा र नाडा अटो शो आयोजना हुँदैछन् । यस्ता अटो शोले नेपाली अटोमोबाइल बजारमा कस्तो प्रभाव पार्छ ? साथै, किन प्राय: चाडपर्व अघि नै अटो शो आयोजना गरिन्छ ?
मेरो विचारमा नाइमा र नाडा अटो शोले नेपाली अटोमोबाइल बजारलाई सकारात्मक दिशा दिने काम गर्छ । नेपालमा चाडपर्वको मौसमलाई नयाँ सवारी खरिदका लागि शुभ समय मान्ने चलन छ । धेरै ग्राहक शुभ साइत हेरेर गाडी खरिद गर्ने भएकाले चाडपर्व अघि अटो शो आयोजना गर्नुको पनि विशेष महत्व छ ।
सामान्यतया नाइमा अटो शोबाट ग्राहकले बजारमा उपलब्ध नयाँ मोडल र प्रविधिबारे जानकारी लिन सुरु गर्छन् । त्यसपछि नाडा अटो शोमार्फत विभिन्न ब्रान्डका सवारी साधनलाई एउटै स्थानमा तुलना गर्ने अवसर पाउँछन् । त्यसपछि दशैं–तिहारको खरिद सिजन सुरु हुन्छ । यसरी हेर्दा अटो शोले ग्राहकलाई निर्णय लिन आवश्यक समय र जानकारी दुवै उपलब्ध गराउँछ ।
अटो शोको सबैभन्दा ठूलो विशेषता भनेको एकै स्थानमा विभिन्न ब्रान्डका गाडी अवलोकन, तुलना र परीक्षण गर्न सकिने अवसर हो । सामान्य अवस्थामा विभिन्न कम्पनीका शोरुम छुट्टाछुट्टै स्थानमा हुन्छन् । तर अटो शोमा ग्राहकले एउटै छानामुनि सबै ब्रान्डका सवारी हेरेर आफूलाई उपयुक्त विकल्प छनोट गर्न सक्छन् ।
पछिल्लो समय काठमाडौं मात्र होइन, पोखरा, चितवन लगायत अन्य शहरमा पनि अटो शो आयोजना हुन थालेका छन् । यसले राजधानी बाहिरका ग्राहक सम्म पनि नयाँ प्रविधि र उत्पादनबारे जानकारी पुगिरहेको छ, जुन सकारात्मक पक्ष हो ।
हाम्रो बुझाइमा अटो शोको उद्देश्य गाडी बिक्री मात्र होइन, ग्राहकलाई सवारी साधनबारे शिक्षित बनाउनु पनि हो । अहिले बजार विस्तारै मूल्य भन्दा पनि गाडीको गुणस्तर, सुरक्षा, प्रविधि, टिकाउपन र बिक्री पछिको सेवाका आधारमा निर्णय गर्ने दिशातर्फ अघि बढिरहेको छ । अटो शोले यही परिवर्तनलाई थप बल पुर्याउने काम गर्छ ।
त्यसैले, चाडपर्व अघि आयोजना हुने नाइमा र नाडा अटो शोले बजारमा उत्साह सिर्जना गर्नुका साथै ग्राहकलाई सही जानकारीका आधारमा सवारी छनोट गर्न सहयोग गर्ने महत्वपूर्ण प्लेटफर्मको भूमिका खेलिरहेका छन् ।
आजको दिनमा गाडी किन्ने सोचमा रहेका ग्राहकलाई तपाईं के सन्देश दिन चाहनुहुन्छ ?
गाडी खरिद गर्नु भनेको सवारी साधन मात्र किन्नु होइन, आफ्नो एउटा सपना पूरा गर्नु पनि हो । त्यसैले गाडी छनोट गर्दा केवल मूल्य हेरेर निर्णय गर्नु उचित हुँदैन । ग्राहकले आफ्नो बजेटलाई ध्यानमा राख्नुपर्छ, तर बजेटका कारण गुणस्तर, सुरक्षा, टिकाउपन र बिक्रीपछिको सेवामा अनावश्यक सम्झौता गर्नु हुँदैन । गाडी खरिद गर्दा त्यसका सुरक्षा सुविधा, प्रविधि, टिकाउपन, स्पेयर पाट्र्सको उपलब्धता, बिक्रीपछिको सेवा तथा कम्पनीको विश्वसनीयता जस्ता पक्षलाई पनि उत्तिकै महत्व दिनुपर्छ ।
जसरी घर बनाउँदा गुणस्तर र दीर्घकालीन उपयोगितालाई प्राथमिकता दिइन्छ, त्यसरी नै गाडी खरिद गर्दा पनि दीर्घकालीन मूल्य र सेवालाई ध्यान दिन आवश्यक हुन्छ । सस्तो मूल्य मात्र हेरेर निर्णय गर्दा पछि समस्या आउन सक्छ ।
हाम्रो विश्वास व्यक्तिगत ग्राहक सेवामा छ । ग्राहकले गाडी खरिद गरेपछि पनि उहाँहरूसँग दीर्घकालीन सम्बन्ध कायम राख्ने, आवश्यक सहयोग गर्ने र परिवारको सदस्यसरह सम्मान गर्ने हाम्रो प्रतिबद्धता छ ।
त्यसैले मेरो सबै ग्राहकलाई एउटै सुझाव छ—गाडी मूल्य हेरेर मात्र होइन, गुणस्तर, सुरक्षा, विश्वसनीयता र बिक्रीपछिको सेवालाई आधार बनाएर छनोट गर्नुहोस्। सही निर्णयले तपाईंको सपना मात्र होइन, दीर्घकालीन सन्तुष्टि पनि सुनिश्चित गर्छ ।