काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले वर्तमान सरकार गठन भएपछि निजी क्षेत्रको मनोबल कमजोर बन्दै गएको र व्यवसाय पलायन हुने अवस्था देखिन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल वितरक संघको २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह–२०८३ लाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले नयाँ सरकार गठनसँगै मुलुकको अर्थतन्त्रले गति लिने, आर्थिक गतिविधि विस्तार हुने तथा वैदेशिक रोजगारीमा गएका नेपाली स्वदेश फर्कने वातावरण बन्ने अपेक्षा गरिएको भए पनि पछिल्ला चार महिनाको अवस्था त्यसको विपरीत देखिएको बताए।
उनले अपेक्षा अनुसार आर्थिक सुधार हुन नसकेको र निजी क्षेत्र थप निराश बन्दै गएको उल्लेख गरे। श्रेष्ठले विगतमा प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीहरूसँग सहज रूपमा भेटेर व्यवसायीका समस्या राख्न सकिने र त्यसबाट समाधान खोज्ने प्रयास हुने गरेको स्मरण गर्दै अहिले भने सरकारका उच्च नेतृत्वसँग भेटघाट नै कठिन बनेको गुनासो गरे।
सरकारसँग प्रत्यक्ष संवादको अभावका कारण निजी क्षेत्रका समस्या समाधान गर्न थप कठिनाइ भइरहेको उनको भनाइ थियो। सरकारले निजी क्षेत्रसँग नियमित संवाद गरी व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए।