काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष पाण्डेले बजारमा बढ्दो उधारो कारोबार व्यवस्थापनका लागि उधारो असुलीसम्बन्धी छुट्टै कानुन ल्याउन सरकारसँग माग गरेका छन्।
शुक्रबार भक्तपुरको गठ्ठाघरमा आयोजित नेपाल वितरक संघको २५औँ वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोह–२०८३ लाई सम्बोधन गर्दै उनले वितरण व्यवसायमा ठूलो रकम उधारोमा फसेको र त्यसको असुली गर्न निकै लामो समय लाग्ने गरेको बताए।
उपाध्यक्ष पाण्डेले उधारो असुलीसम्बन्धी प्रभावकारी कानुन निर्माणका लागि सम्पूर्ण निजी क्षेत्रका प्रतिनिधिहरू एकजुट हुनुपर्नेमा जोड दिए। व्यवसायीको हित संरक्षणका लागि साझा आवाज उठाउनुपर्ने उनको भनाइ थियो।
उनले सरकारले निजी क्षेत्रका समस्या सुन्न इच्छुक नदेखिएको गुनासो गर्दै अर्थतन्त्र सुधार र व्यवसायमैत्री नीतिका विषयमा सम्बन्धित मन्त्रीहरूसँग छलफल गर्न जाँदा समेत समय अभावको कारण देखाएर पन्छिने गरेको बताए ।
मन्त्रीहरूले व्यवसायीका समस्या गम्भीर रूपमा सुन्नेभन्दा औपचारिक भेटघाट र तस्बिर खिच्नमै सीमित हुने गरेको टिप्पणी गर्दै उनले निजी क्षेत्रका वास्तविक समस्याको समाधानतर्फ सरकार गम्भीर बन्नुपर्ने बताए।
यस्तै, विभिन्न सरकारी निकायबाट वितरक तथा व्यवसायीहरू अनावश्यक झन्झट र दबाबमा पर्ने गरेको गुनासो गर्दै उनले व्यवसाय सञ्चालनका लागि सहज र विश्वासिलो वातावरण निर्माण गर्न सरकारसँग माग गरे।