काठमाडौं । पोखरा विमानस्थल निर्माणमा कर छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई विशेष अदालतले १५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको छ।
नेपाली कांग्रेसका नेता समेत रहेका कार्कीलाई विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ उमेश कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीविरुद्ध ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो ।
कार्की अर्थमन्त्री हुँदा पोखरा विमानस्थलको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङलाई मूल्य अभिवृद्धि कर ९भ्याट० लगायतका महसुलबाट उन्मुक्ति दिन ‘इम्प्लिमेन्टेसन एग्रिमेन्ट’मा गलत प्रावधान राखेर राज्यलाई ठुलो हानी पुर्याएको अख्तियारको दाबी थियो ।
अख्तियारले कार्कीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ र दफा ३ बमोजिमको कसुर गरेको भन्दै कैद र बिगो बमोजिम जरिवानाको माग गरेको थियो ।
आदेशमा भनिएको छ, ‘प्रतिवादीको तत्कालीन पदीय हैसियत, भूमिका र जिम्मेवारी समेतलाई मध्यनजर गरी १५ लाख रुपैयाँ धरौटी वा सो बराबरको बैंक जमानत लिई तारेखमा राख्नु ।’