काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अटोमोबाइल क्षेत्रलाई केवल उपभोग र विलासिताको साधनका रूपमा मात्र हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्ने बताएका छन् ।
नाडा अटो एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले मोबिलिटी (यातायात) क्षेत्र नेपालको अर्थतन्त्रको एक महत्त्वपूर्ण आधारस्तम्भ बनिसकेको स्पष्ट पारे ।
अध्यक्ष अग्रवालले अटोमोबाइल क्षेत्रले सवारी साधन मात्र बिक्री नगरेर समग्र अर्थतन्त्रका अरू धेरै क्षेत्रहरूलाई चलायमान बनाएको कुरा उल्लेख गरे ।”यो क्षेत्रले बैंकिङ, बीमा, पर्यटन, यातायात, निर्माण, ऊर्जा, सूचना प्रविधि, स्पेयर पार्टस्, ग्यारेज, प्राविधिक सेवा र लजिस्टिक जस्ता क्षेत्रका हजारौँ साना तथा मझौला व्यवसायलाई जीवन्त बनाएको छ,” उनले भने ।
अटो क्षेत्रको आर्थिक योगदानबारे चर्चा गर्दै उनले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस क्षेत्रले करिब ७ प्रतिशतको योगदान पुर्याएको जानकारी दिए । साथै, यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा १२ लाखभन्दा बढी रोजगारी सिर्जना गरेको तथ्य प्रस्तुत गर्दै उनले यसलाई नेपालको आर्थिक वृद्धिको ‘महत्त्वपूर्ण इन्जिन’ का रूपमा चित्रण गरे ।
राजस्व सङ्कलनका दृष्टिले पनि अटोमोबाइल क्षेत्र राज्यको सबैभन्दा ठूलो योगदानकर्तामध्ये एक भएको उनको भनाइ छ । भन्सार महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), अन्त:शुल्क र आयकरमार्फत राज्यले हरेक वर्ष अर्बौँ रुपैयाँ राजस्व प्राप्त गरिरहेकोले यसलाई केवल उपभोगको क्षेत्र भन्नु गलत हुने उनको तर्क छ ।
‘विश्व अहिले चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गरिसकेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, बिग डाटा, इन्टरनेट अफ थिंग्स र विद्युतीय सवारी प्रविधिले विश्व अर्थतन्त्रको स्वरूप बदलिरहेका छन्,’ उनले भने, ‘यो परिवर्तनको केन्द्रमा अहिले हाम्रो अटोमोबाइल उद्योग छ । त्यसैले यसलाई आर्थिक गतिविधि, रोजगारी, लगानी र प्रविधि रूपान्तरणको मुख्य विषयका रूपमा हेरिनुपर्छ ।’