काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूका लागि आकर्षक र विशेष छूटसहितको अटो लोन योजना सार्वजनिक गरेको छ।
बैंकले एक्सपोलाई लक्षित गर्दै व्यक्तिगत गाडी कर्जामा न्यूनतम ५.२५ प्रतिशत ब्याजदरमै कर्जा उपलब्ध गराउने घोषणा गरेको हो। योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत मात्र प्रिमियम थपेर कर्जा पाउनेछन्।
बैंकको हालको आधारदरका आधारमा यो ब्याजदर न्यूनतम ५.२५ प्रतिशत कायम हुन आउँछ। जुन बैंकको आधारदर घटबढ भएअनुसार स्वत: समायोजन हुँदै जानेछ।
यसका साथै, विद्युतीय सवारी साधन (ईभी) खरिद गर्न इच्छुक ग्राहकहरूलाई लक्षित गर्दै बैंकले ३ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर (फिक्स्ड) ब्याजदर योजना पनि ल्याएको छ। ३ वर्षको अवधि समाप्त भएपछि भने उक्त कर्जाको ब्याजदर बैंकको आधारदरमा अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गरी निर्धारण गरिनेछ।
ग्राहकहरूलाई सहज र छिटो छरितो सेवा प्रदान गर्ने उद्देश्यले ग्लोबल आइएमई बैंकले नाइमा अटो एक्सपोस्थलमै आफ्नै स्टल स्थापना गरेको छ। गाडी किन्न इच्छुक ग्राहकहरूले एक्सपोमा रहेको बैंकको स्टलबाटै कर्जाका लागि सोझै आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। आवश्यक सम्पूर्ण कागजातहरू पुरा गरी आवेदन दिएको बढीमा तीन दिनभित्रै बैंकले कर्जा स्वीकृति पत्र प्रदान गर्ने जनाएको छ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेष्ट इन्टरनेट बैंक २०१६’ का साथै सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ। यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स, बेष्ट बैंक ईएसजी नेपाल र बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारिसकेको छ।
मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा रहेको ग्लोबल आइएमई बैंकले ३४१ शाखा, ३६६ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको छ।साथै, विश्वका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याएर बैंकले राष्ट्रिय अर्थतन्त्रमा समेत उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।