काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ।
बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जा शीर्षकमा आधार दरमा न्यूनतम थप ०.५० प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।
चाडपर्वको समयमा व्यवसाय विस्तार तथा ग्राहकको वित्तीय आवश्यकता सम्बोधन गर्न विशेष कर्जा योजना ल्याइएको बैंकको भनाइ छ।
यस योजनामार्फत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पुँजी तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सकिनेछ।
त्यस्तै, अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्थानान्तरण (स्वाप) गर्न समेत यो कर्जा सुविधा उपयोग गर्न सकिने बैंकले जनाएको छ।

सीमित अवधिका लागि उपलब्ध हुने उक्त विशेष कर्जा सुविधा मक्तिनाथ विकास बैंकका देशभर रहेका १७६ वटै शाखाबाट प्राप्त गर्न सकिनेछ। इच्छुक ग्राहकले नजिकको शाखामा सम्पर्क गरी कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तबारे जानकारी लिन सक्नेछन्।
बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङका अनुसार विशेष योजनाले चाडपर्वको अवसरमा कृषि तथा साना तथा मझौला व्यवसायीलाई व्यवसाय विस्तारका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।