काठमाडौं । दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय एक बालक नवलपरासीपूर्वको सामुदायिक वनमा सकुशल भेटिएका छन्।
गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले जनाएको छ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा थिएनन्।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
त्यसपछि बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो।

खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको प्रहरीले जनाएको छ।
सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी प्रहरीले सम्बन्धित आफन्तको जिम्मा लगाएको छ।