काठमाडौं । धर्म वा आस्थाका आधारमा हुने हिंसाका पीडितको सम्झनामा प्रत्येक वर्ष अगस्ट २२ मा अन्तर्राष्ट्रिय दिवस मनाइन्छ । धर्म वा आस्थाका आधारमा हुने हिंसाबाट पीडित व्यक्ति तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग र सहायता उपलब्ध गराउनुपर्ने महत्त्वलाई उजागर गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।
धर्म वा आस्थाको स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार र सङ्गठनको स्वतन्त्रता एकअर्कासँग जोडिएका तथा परस्पर सहयोगी अधिकार हुन् । यी अधिकारलाई मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रका १८, १९ र २० धारामा समेटिएको छ । यी अधिकारको संरक्षणले धर्म वा आस्थाका आधारमा हुने सबै प्रकारका असहिष्णुता र विभेदविरुद्धको अभियानलाई बल पुर्याउने विश्वास गरिन्छ ।
स्थानीयदेखि अन्तर्राष्ट्रिय तहसम्म विचारमाथि खुला, रचनात्मक र सम्मानजनक छलफल तथा विभिन्न धर्म, आस्था र संस्कृतिबीचको संवादले धार्मिक घृणा, हिंसाका लागि उक्साहट र हिंसात्मक गतिविधि रोक्न सकारात्मक भूमिका खेल्न सक्छ । त्यस्तै, विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको प्रयोग र सूचना खोज्ने, प्राप्त गर्ने तथा अरूलाई उपलब्ध गराउने अधिकारको पूर्ण सम्मानले लोकतन्त्रलाई बलियो बनाउन तथा धार्मिक असहिष्णुता घटाउन सहयोग गर्ने बताइएको छ ।
विश्वका विभिन्न भागमा धार्मिक समुदाय तथा अल्पसङ्ख्यकसहित व्यक्तिहरूमाथि धर्म वा आस्थाका आधारमा हुने असहिष्णुता र हिंसाका घटना निरन्तर भइरहेका छन्। यस्ता घटनाको सङ्ख्या र गम्भीरता बढिरहेको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गर्दै आएको छ ।
धर्म वा आस्थाका नाममा व्यक्ति तथा धार्मिक अल्पसङ्ख्यकमाथि हुने निरन्तर हिंसा र आतङ्कवादी गतिविधिको कडा निन्दा गर्दै संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव पारित गरेको थियो । त्यसै प्रस्तावअनुसार अगस्ट २२ लाई धर्म वा आस्थाका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको हो ।

महासभाले सबै प्रकारका आतङ्कवाद तथा आतङ्कवादलाई बढावा दिने हिंसात्मक अतिवादको स्पष्ट रूपमा निन्दा गरेको छ । यस्ता गतिविधि जुनसुकै स्वरूपमा, जहाँ र जसले गरे पनि स्वीकार्य नहुने जनाइएको छ । साथै आतङ्कवाद वा हिंसात्मक अतिवादलाई कुनै धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न नहुनेमा पनि जोड दिइएको छ ।
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१९ मा पारित प्रस्तावमार्फत अगस्ट २२ लाई धर्म वा आस्थाका आधारमा हुने हिंसाका पीडितको सम्झनामा अन्तर्राष्ट्रिय दिवस घोषणा गरेको हो । दिवस घोषणासम्बन्धी प्रस्तावमा धर्म वा आस्थाका आधारमा हुने हिंसाबाट पीडित व्यक्ति तथा उनीहरूका परिवारलाई प्रचलित कानुनअनुसार आवश्यक सहयोग र सहायता उपलब्ध गराउनुपर्ने महत्त्वलाई स्वीकार गरिएको छ ।
धर्म वा आस्थाका आधारमा व्यक्तिमाथि हुने सबै प्रकारका हिंसाको महासभाले कडा निन्दा गरेको छ । उनीहरूका घर, व्यवसाय, सम्पत्ति, विद्यालय, सांस्कृतिक केन्द्र तथा धार्मिक स्थलमाथि हुने आक्रमणलाई पनि अन्तर्राष्ट्रिय कानुनविपरीतको कार्यका रूपमा लिइएको छ ।
संयुक्त राष्ट्रसङ्घले यो दिवस घोषणा गर्दै मानव अधिकारको प्रवर्द्धन र संरक्षण गर्ने मुख्य जिम्मेवारी राज्यहरूको रहेको स्मरण गराएको छ । धार्मिक अल्पसङ्ख्यकसहित सबै व्यक्तिलाई आफ्नो धर्म वा आस्था स्वतन्त्र रूपमा अभ्यास गर्ने अधिकारको संरक्षण गर्नुपर्नेमा पनि जोड दिइएको छ ।