पोखरा । कास्कीको पोखरा महानगरपालिका–१८ लामागाउँमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पोखरा महानगरपालिका–१८ लामागाउँस्थित ग २० प ६०९४ नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोक्किएको थियो। पोलमा ठोक्किएपछि मोटरसाइकल पुनः पोखराबाट साराङकोटतर्फ जाँदै गरेको ग १ ख ४३३५ नम्बरको बसमा ठोक्किएको थियो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पोखरा महानगरपालिका–१८ की २९ वर्षीया रुपा बिक गम्भीर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेकी उनको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मोटरसाइकल चालक पोखरा महानगरपालिका–१८ सुन्दरपोखरीका ४३ वर्षीय रामचन्द्र बि.क. पनि घाइते भएका छन् । उनको टाउको र दायाँ कानमा चोट लागेको र अवस्था गम्भीर रहेको छ ।

दुर्घटनामा संलग्न बस र बस चालक जिल्ला अन्नपूर्ण गाउँपालिका–१ नौडाँडाका २४ वर्षीय अभिषेक परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।