काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको अटोमोबाइल क्षेत्रलाई आयातमुखी व्यापारबाट उत्पादनमुखी उद्योगतर्फ रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गरेको १८औँ संस्करणको ‘नाडा अटो शो’ उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्रलाई आर्थिक गतिविधि, रोजगारी, प्रविधि र औद्योगिक विकाससँग जोडेर अघि बढाउनुपर्ने बताएका हुन् ।
यातायात तथा अटोमोबाइल क्षेत्र कुनै पनि राष्ट्रको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै उनले नेपालले अब सवारीसाधन आयातमा मात्र निर्भर रहने अवस्थाबाट बाहिर निस्केर स्वदेशमै उत्पादनको आधार तयार गर्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘नाडा अटो शो केवल नयाँ सवारीसाधन प्रदर्शन गर्ने व्यापारिक थलो मात्र नभई नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको सम्भावना देखाउने महत्वपूर्ण माध्यम हो । अटोमोबाइल क्षेत्रमा प्रविधिको तीव्र विकास भइरहेका बेला नेपालले त्यसको प्रयोगकर्ता मात्र नभई उत्पादन र नवप्रवर्तनको हिस्सा बन्नुपर्छ ।’
साथै उपराष्ट्रपति यादवले अब नेपालमै सवारीसाधन उत्पादन गरेर आत्मनिर्भरताको बाटोमा अग्रसर हुन आवश्यक रहेको र यसले स्वदेशमै रोजगारी सिर्जना गर्नुका साथै वैदेशिक मुद्राको सञ्चितिमा पनि सहयोग पुर्याउने बताएका छन् ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको उल्लेख गर्दै उनले यसलाई हरित अर्थतन्त्रतर्फ अघि बढ्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
उनका अनुसार वातावरणमैत्री प्रविधिमा आधारित सवारीसाधनको प्रवर्द्धनले पेट्रोलियम पदार्थमाथिको निर्भरता घटाउनुका साथै मुलुकलाई प्रविधिमैत्री र वातावरणमैत्री बनाउन सहयोग पुर्याउन सक्छ ।
उपराष्ट्रपति यादवले नेपालको अटोमोबाइल बजारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन नाडाले थप प्रभावकारी भूमिका खेल्नेछ भन्नेमा विश्वास व्यक्त गरेका छन् ।
विश्वस्तरीय प्रविधि र सुरक्षा मापदण्डलाई नेपाली बजारमा भित्र्याउनुका साथै नेपालमै प्रविधिको विकास र प्रयोग बढाउन निजी क्षेत्र, सरकार र प्रविधि विकासकर्ताबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
उनले उपभोक्ता, उद्योगी, प्रविधि विकासकर्ता र नीति निर्माताबीच प्रत्यक्ष संवाद तथा सहकार्यको वातावरण बनाउनुपर्ने बताए । अटोमोबाइल क्षेत्रमा देखिएका नीतिगत, प्राविधिक र व्यावसायिक चुनौती समाधान गर्न सबै पक्षबीच समन्वय आवश्यक रहेको उनले उल्लेख गरे ।