काठमाडौं । रसुवा, नुवाकोट र धादिङमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति रोटरी क्लब अफ भिजन काठमाडौंले गहिरो दु:ख व्यक्त गर्दै प्रभावित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
रोटरी क्लब अफ भिजन काठमाडौंका अध्यक्ष रोटेरियन कृष्णप्रसाद दुलालले बाढी तथा पहिरोका कारण ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले विपत्तिमा परेका परिवार, समुदाय तथा प्रभावित संस्थाहरूप्रति सहानुभूति व्यक्त गर्दै यस कठिन घडीमा आफूहरू प्रभावित नागरिकको साथमा रहेको बताएका छन्।
क्लबले बाढीबाट प्रभावित क्षेत्रमा राहत, उद्धार, पुन:स्थापना तथा पुनर्निर्माणका कार्यमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। सम्बन्धित सरकारी निकाय, रोटरीका साझेदार संस्था तथा मानवीय सेवामा सक्रिय संघसंस्थासँग समन्वय गरी प्रभावित नागरिकलाई आवश्यक सहयोग उपलब्ध गराउने क्लबले जनाएको छ।
अध्यक्ष दुलालले रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका सम्पूर्ण रोटरी क्लबहरूलाई एकजुट भएर सहयोगमा जुट्न अपिल गरेका छन्। “आफूभन्दा माथि सेवा” अर्थात् “आफूभन्दा माथि सेवा” भन्ने रोटरीको मूल भावनाअनुसार विपत्तिमा परेका नागरिकलाई सहयोग गर्न उनले आग्रह गरेका हुन्।
बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुन:स्थापना र पुनर्निर्माणमा समेत सहयोग आवश्यक रहेको क्लबको भनाइ छ। सामूहिक प्रयास र स्रोत परिचालनमार्फत पीडित परिवारको जीवन पुन:स्थापित गर्न सकिने भन्दै क्लबले सबै पक्षलाई मानवीय सहयोगमा हातेमालो गर्न आग्रह गरेको छ।

क्लबले विपत्तिमा ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई दु:ख सहन सक्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेको छ।