काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
इप्पान अध्यक्ष मोहनकुमार डाँगीका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि सहयोग रकमको चेक हस्तान्तरण गरिनेछ।
अध्यक्ष डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँग मात्र नभई नेपाली जनताको सुख–दुःखसँग पनि जोडिएको क्षेत्र भएकाले विपद्को समयमा सम्पूर्ण सदस्य कम्पनी एकजुट भएर पीडितलाई राहत र आशाको सञ्चार गर्नुपर्ने बताए । उनले मानवीय अभियानमा इप्पानका सम्पूर्ण सदस्य कम्पनीलाई सक्रिय र उदारतापूर्वक सहयोग गर्न आग्रह गरे ।
बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।