काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसनले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ ।
संस्थाले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिएको हो ।
बाढीका कारण भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गरिएको छ । नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।
अध्यक्ष वैद्यले भनेकी छन्– ‘यस्तो कठिन समयमा सरकार र प्रभावित नागरिकलाई सहयोग गर्नु निजी क्षेत्रको पनि साझा दायित्व हो । सरकार, निजी क्षेत्र र समुदायबिचको सहकार्यले नै राहत तथा पुनस्र्थापना कार्यलाई प्रभावकारी बनाउन सकिन्छ ।’
विपद्को समयमा नाइमाका सदस्य कम्पनीहरूले पनि आ–आफ्नो तर्फबाट आर्थिक, यातायात तथा लजिस्टिक सहयोगहरू उपलब्ध गराइरहेका छन् ।

संस्थाले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरूलाई आफ्नो क्षमता र उपलब्ध स्रोत अनुसार प्रभावित नागरिकहरूको सहयोगमा जुट्न हार्दिक आग्रह समेत गरेको छ ।