काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालैको विनाशकारी बाढीका कारण उत्पन्न विषम परिस्थिति र आसन्न चाडपर्वलाई मध्यनजर गर्दै बजारलाई सहज, व्यवस्थित र मर्यादित बनाउन सरोकारवालाहरूलाई अपिल गरेको छ।
चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले सोमबार एक अपिल जारी गर्दै बाढीले जनधनको क्षति पुर्याउनुका साथै यातायात र आपूर्ति प्रणालीमा गम्भीर असर पारेको उल्लेख गरेका छन् ।
विज्ञप्तिमा विशेषगरी उत्तरी रसुवागढी नाका प्रभावित हुँदा आयात–निर्यात र आपूर्ति व्यवस्थामा अवरोध पुगेको भन्दै आगामी दशैँ, तिहार, छठ जस्ता प्रमुख चाडपर्वलाई ध्यानमा राखेर बजारलाई सहज बनाउनु सबैको साझा दायित्व भएको बताइएको छ ।
चेम्बरले सम्पूर्ण उद्योगी, व्यवसायी, आयातकर्ता, वितरक तथा खुद्रा व्यवसायीहरूलाई आफ्नो व्यावसायिक गतिविधि जिम्मेवारीपूर्वक सञ्चालन गर्न र नाफाभन्दा माथि उठेर सामाजिक जिम्मेवारी बहन गर्न आग्रह गरेको छ।
चाडपर्वको समयमा बजारमा माग बढ्ने भएकाले अवरुद्ध राजमार्गको वैकल्पिक व्यवस्था गरी आपूर्ति सुचारु राख्न र वस्तुको कृत्रिम अभाव वा मूल्यवृद्धि नगर्न चेम्बरले व्यवसायीहरूलाई सचेत गराएको छ । यस्तै, उपभोक्ताहरूलाई पनि अनावश्यक सञ्चय र त्रासबाट मुक्त भई संयमता प्रदर्शन गर्न अनुरोध गरिएको छ।

सरकार र निजी क्षेत्र दुवै लचिलो र सहयोगात्मक बनेमा मात्रै विपद् पछिको बजारलाई सहज रूपमा सञ्चालन गर्न सकिने चेम्बरको ठम्याइ छ। बजारमा विश्वासको वातावरण कायम राख्न, नियमित आपूर्ति सुनिश्चित गर्न र उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिन चेम्बरले सम्पूर्ण व्यावसायिक समुदायलाई विशेष आग्रह गरेको छ।