काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा, बाढी प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनस्र्थापना र भौतिक पुनर्निर्माणमा सहयोग पुर्याउने हेतुले ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
जसमध्ये बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५० लाख र कर्मचारीको तर्फबाट २० लाख रुपियाँ कोषमा जम्मा गरिएको हो ।
उक्त रकमको चेक सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् ।
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण सयौं नागरिकको ज्यान गएको छ । कयौँ सम्पर्कविहीन भएका छन् भने धेरै परिवार विस्थापित हुनुपरेको छ । अरबौं रुपैयाँको भौतिक नोक्सानी भएको छ । बैंकले यस विपद्मा परी ज्यान गुमाएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
बैंकले यसअघि पनि विभिन्न विपद्मा आर्थिक, भौतिक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ । बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएम मार्फत सेवा प्रवाह गर्दै आएको छ ।