काठमाडौं । भोटेकोशीको बाढीका कारण मानवीय क्षति भएर देश शोकमा डुबिरहेका बेला अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले मृतकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरेको छ।
भदौ ७ गते सम्पन्न निर्वाचनबाट चुनिएको कार्यसमितिलाई पद हस्तान्तरण गर्न आयोजित कार्यक्रमको सुरुआत बाढीमा ज्यान गुमाएका नागरिकको स्मरणमा मौनधारण गरी गरिएको थियो ।

पहिलो चरणको कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कुमारराज कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथ गराएका थिए। त्यसपछि निवर्तमान अध्यक्ष राजेन्द्र के.सी.ले नवनिर्वाचित अध्यक्ष मन्जिला अनिल शर्मा, वरिष्ठ उपाध्यक्ष कमला ओली, उपाध्यक्ष रञ्जना निरौला, महासचिव रमेश दाहाल, सचिव खेमराज न्यौपाने र कोषाध्यक्ष कमला रिसालसहितका सदस्यहरूलाई पद हस्तान्तरण गरे। नवनिर्वाचित अध्यक्ष शर्माले अनेसास नेपाल च्याप्टरलाई जग्गा दान गर्ने घोषणा गर्दै आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
दोस्रो चरणको कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलसहितका अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई दिए। निवर्तमान अध्यक्ष के.सी.ले आफ्नो कार्यकालको अनुभव साझा गर्दै नवनिर्वाचित अध्यक्ष शर्मालाई आसन ग्रहण गराएर कार्यक्रम समापन गरे।

विपद्का बेला राहत संकलन र आकस्मिक निर्णयहरू लिन सहज होस् भन्ने उद्देश्यले विषम परिस्थितिका बाबजुद यो पद हस्तान्तरण कार्यक्रम आयोजना गरिएको महासचिव रमेश दाहालले जानकारी दिए। नयाँ कार्यसमितिको पहिलो बैठक पनि सम्पन्न भइसकेको छ।