काठमाडौं । काठमाडौँ मलका व्यवसायीहरूले तीज पर्वको अवसरमा आयोजना गरेको तीज भेला उत्सवसँगै मानवीय सेवाको भावनासहित सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ मल व्यवसायी तीज भेलामा सहभागी व्यवसायीहरूले तीजलाई भेटघाट, आत्मीयता, सद्भाव र सांस्कृतिक एकताको पर्वका रूपमा मनाउँदै यसपटक रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएका हुन्।
कार्यक्रममा बोल्दै आयोजक सुष्मा महराले भदौ १० गते रसुवामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको भन्दै पीडित परिवारलाई सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताइन्। बाढीका कारण कतिपयले आफन्त गुमाएको, घरबार तथा जीवनभरको मेहनतले जोडेको सम्पत्ति गुमाएको भन्दै उनले दुःखको समयमा पीडितसँग हातेमालो गर्नु सबैको सामाजिक दायित्व भएको बताइन्।
तीज भेलालाई केवल मनोरञ्जन र उत्सवमा सीमित नराखी पीडित परिवारका लागि सहयोग संकलन गर्ने अवसरका रूपमा समेत उपयोग गर्ने आयोजक सुष्म महराको भनाइ छ। सहभागी व्यवसायी तथा उपस्थित महानुभावहरूलाई आ–आफ्नो क्षमताअनुसार सहयोग गर्न आग्रह गरिएको छ।
कार्यक्रममा बाढीमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै सहभागीहरूले एक मिनेट मौनधारणसमेत गरेका थिए।

व्यवसायीहरूले दुःखमा परेका नेपाली नागरिकलाई सहयोग गर्नु नै मानवीयताको परिचय भएको बताउँदै “दुःखमा साथ दिऔँ, खुसीमा एक–अर्कासँग रमाऔँ र आवश्यक परेको बेला सहयोगको हात फैलाऔँ” भन्ने सन्देश दिएका छन्।
काठमाडौँ मल व्यवसायीहरूको तीज भेलाले सांस्कृतिक उत्सवसँगै सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको सन्देशसमेत प्रवाह गरेको छ।
