काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोटको त्रिशूली तथा देवीघाट, धादिङलगायत क्षेत्रमा भएको जनधनको क्षतिपछि पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ब्रह्माकुमारीज् नेपालले एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ ।
बाढीबाट प्रभावित समुदायको सहयोगार्थ ब्रह्माकुमारीज् नेपालले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालको तर्फबाट राजयोगिनी दिदी किरणले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच, ब्रह्माकुमारीज् नेपालले भोटेकोशी नदीमा आएको बाढीमा परी दिवंगत भएकाहरूको आत्माको शान्ति तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्न श्रद्धाञ्जली कार्यक्रमसमेत आयोजना गरेको थियो ।
भदौ २० गते शनिबार वीरेन्द्र अन्तर्राष्ट्रिय स्वीमिङ कम्प्लेक्स, सातदोबाटोको हलमा आयोजित कार्यक्रममा एक हजारभन्दा बढी राजयोगी तपस्वी प्रजापिता ब्रह्माकुमारी तथा ब्रह्माकुमारहरू सहभागी भएका थिए ।
कार्यक्रममा सहभागीहरूले ॐ ध्वनि, योग–तपस्या, मौनधारण तथा मैनबत्ती प्रज्वलनमार्फत बाढीमा दिवंगत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति ऐक्यबद्धता जनाएका थिए ।