काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पहिलो जेनजी सहिद दिवसका अवसरमा सहिदहरूको योगदानप्रति सम्मान व्यक्त गरेको छ।
आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्रीको कार्यालयले प्रविधि, नवप्रवर्तन र परिवर्तनको नयाँ सोच बोक्ने सहिदहरूको योगदान अतुलनीय रहेको उल्लेख गरेको हो।
अगाडि लेखिएको छ, ‘अग्रजहरूको मार्गदर्शन र नयाँ पुस्ताको चाहनालाई जोड्दै निष्पक्ष, पारदर्शी र सम्भावनाहरूले भरिपूर्ण नेपाल निर्माणमा अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरणा मिलोस्।’
२०८२ साल आजकै दिन अर्थात् भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा भ्रष्टाचारको विरोध गर्दै ‘जेनजी’ युवा आन्दोलनमा उत्रिएका थिए। जसले नेपालको राजनीतिक दिशा नै परिवर्तन गरिदियो।
त्यस दिन राजधानी काठमाडौँमा मात्र प्रहरीको गोली लागेर १९ जना मारिएका थिए।

त्यही दिनलाई आज जेनजी सहिद दिवसका रूपमा मनाइएको हो। यस अवसरमा सररकाले देशभर सार्वजनिक बिदा पनि दिएको छ।
आन्दोलनको पहिलो दिन भदौ २३ गते तत्कालीन सरकारको दमनले युवा मारिएपछि भदौ २४ गते देशभर तोडफोड र आगजनी भएका थिए।
दुई दिनमा प्रदर्शनकारी ५९, जनाकैदीबन्दी १० र सुरक्षाकर्मी ३ गरी ७२ जनाको ज्यान गयो भने सयौँ घाइते भए।