काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुन:स्थापनाका लागि एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सले ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएका छन् ।
एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सले २१ लाख रुपैयाँ सहयोग गरेका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित नागरिकको राहत र पुन:स्थापनाका लागि प्रदान गरिएको हो ।
यस्तै, एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीहरूले पनि बाढी प्रभावित समुदायका लागि सामूहिक रूपमा करिब ३५ लाख रुपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
यससँगै एनआईएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर्स र उसका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितका लागि ५६ लाख रुपैयाँभन्दा बढी सहयोग जुटेको छ ।
संस्थाहरूले बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवनलगायत जिल्लाको पुनर्निर्माण तथा दीर्घकालीन विकासमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रभावित क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन भविष्यमा लगानीका अवसर विस्तार गर्ने योजना पनि रहेको जनाइएको छ । साथै, शाखा सञ्जाल विस्तार गरेर पुँजी बजार र वित्तीय सेवाको पहुँच प्रभावित क्षेत्रमा थप सहज बनाउने पहल गरिने बताइएको छ ।
यसबाट प्रभावित परिवार तथा समुदायलाई वित्तीय सेवासँग जोड्न र स्थानीय आर्थिक विकासमा दीर्घकालीन योगदान पुर्याउन सहयोग पुग्ने विश्वास संस्थाहरूले व्यक्त गरेका छन् ।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्स परिवारले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना जनाएको छ ।