काठमाडौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्टले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार र पुन:स्थापनाका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।
दुवै कम्पनीले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएका हुन् । सहयोग रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपाने, सञ्चालक टिकाराम न्यौपाने, पूर्वसञ्चालक बिमलकुमार सावर्थिया, पूर्वसञ्चालक तेन्जिन लाक्देन, प्रमुख सञ्चालन अधिकृत नवीनप्रकाश अधिकारी र कम्पनी सचिव कमलकुमार भारती सहभागी थिए ।
कम्पनीका अनुसार भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गर्ने निर्णय गरिएको हो । उक्त रकमबाट बाढी प्रभावित परिवारको राहत, उद्धार र पुन:स्थापनाका काममा सहयोग पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।
सर्वोत्तम र जगदम्बा सिमेन्टले सामाजिक उत्तरदायित्वलाई आफ्नो प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार र समुदाय केन्द्रित विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएको उल्लेख गरेका छन् । आगामी दिनमा पनि विपद्का बेला सरकार र प्रभावित समुदायसँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।

कम्पनीले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र प्रभावित समुदायको शीघ्र राहत तथा पुन:स्थापनाको काम सफल होस् भन्ने कामना गरेको छ ।