काठमाडौं । रसुवाको भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट घरबारविहीन तथा प्रभावित परिवारका लागि प्रभु बैंकले थप राहत सामग्री उपलब्ध गराएको छ ।
बैंकले बिहीबार जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग उपलब्ध गराएको हो । उक्त राहत सामग्री प्रभावित परिवारलाई वितरण गरिने जनाइएको छ ।
राहत सामग्री बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् ।
यसअघि पनि बैंकले बाढीपहिरो प्रभावितको राहत तथा उद्धारका लागि नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको थियो ।
बैंकले बाढीपहिरोका कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन व्यक्तिको शीघ्र उद्धार तथा घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित समुदायप्रति बैंकले समवेदना व्यक्त गरेको जनाएको छ ।