काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । विहिबार साँझ भएको भेटवार्तामा नेपाल–भारत विकास सहकार्यका विभिन्न विषयमा व्यापक छलफल भएको दिल्ली स्थित नेपाली दुताबासले जानकारी दिएको छ । भेटमा विशेषगरी बाढीपछिको पुनर्निर्माण, व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा आपसी हितका अन्य विषयमा छलफल भएको जनाइएको छ । त्यस्तै दुवै मन्त्रीले लामो समयदेखि कायम नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत छलफल गरेको दुताबासले जनाएको छ । भारतको तीन दिने औपचारिक भ्रमणमा आजै दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
२- नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी सभापति गगन थापालाई १५औँ महाधिवेशनको कार्यतालिका केही समय स्थगित गरी पार्टीभित्र सहमतिको प्रयास गर्न सुझाव दिएका छन् । खड्काले सामाजिक सञ्जालमार्फत थापालाई खुला आग्रह गर्दै महाधिवेशनको कार्यतालिका स्थगित गरेर पार्टीका पूर्वसभापति शेरबहादुर देउवा तथा अग्रज नेताहरूसँग तत्काल संवाद सुरु गर्न सुझाव दिएका हुन् । उनले पार्टीको सम्पूर्ण एकता अझै सम्भव रहेको बताएका छन् ।
उनले दुईवटा अलग–अलग महाधिवेशनको अवस्था रोक्न नसके कांग्रेस विभाजन हुन सक्ने चेतावनी दिदै पार्टी विभाजनले अन्य राजनीतिक दलमा समेत विभाजनको अवस्था निम्तिन सक्ने र त्यसले देशमा जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व बढाउने जोखिम रहेको दाबी गरेका छन् । उनले भनेका छन्- ‘किन हो किन हो मेरो अन्तरात्माले भनिरहेको छ – देशमा जातिय, क्षेत्रिय र धार्मिक द्धन्दको अकल्पनिय रणसंग्राम मच्चिने छ, मच्चाईने छ र हाम्रो प्यारो देश भाद्र २४ लाई पनी बिर्साउने गरि भिषण रण सग्रमाको दुस्चक्रमा परिणत हुने प्रबल प्रबल संभावना तिर उन्मुख देखिन्छ, त्यसपछि हाम्रो देशको राष्ट्रियता, भौगोलिक अखन्डता, सार्वभौंमसत्ता अनि स्वाभिमान को के होला ?’ खड्काले थापालाई विगतका घटनाक्रम र आफूले पाएका सुझावबारे गम्भीर आत्मसमीक्षा गर्दै निर्णायक कदम चाल्न आग्रह गरेका छन् । कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण कुनै समस्या नपर्ने भन्दै उनले सम्पूर्ण कांग्रेसलाई एकताबद्ध बनाउने पहल गर्न थापासँग आग्रह गरेका छन् । आफू कुनै महत्वाकांक्षाबाट मुक्त भएर पार्टी एकताका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको पनि खड्काले बताएका छन् ।
३- अखिल नेपाल फुटबल संघले फिफाको निर्देशनअनुसार निलम्बन हटाउने वातावरण बनाउन तथा फुटबल संघको स्वायत्तता कायम राख्दै नेपाली फुटबलका नियमित गतिविधि सञ्चालन गर्न सरकारसँग आग्रह गरेको छ । विहिबार पत्रकार सम्मेलन गर्दै सरकारको हस्तक्षेपका कारण फिफाबाट निलम्बनमा परेपछि नेपालले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गुमाएको भन्दै एन्फाले समस्या तत्काल समाधान गर्न आग्रह गरेको हो । एन्फाले सार्वजनिक गरेको विवरणअनुसार फिफाको निलम्बनपछि फिफा महिला शृंखला २०२६ थाइल्यान्ड, महिला नेपाल र हङकङ अन्तर्राष्ट्रिय प्रतियोगिता, एएफसी यु–१७ महिला एसियन कप २०२७ छनोट, एएफसी यु–२० महिला एसियन कप २०२६ छनोट र एएफसी यु–२० एसियन कप २०२७ पुरुष छनोट लगायतका अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता गुमेको छ ।

त्यस्तै, एएफसी महिला च्याम्पियन्स लिगमा समेत नेपाली टोलीको सहभागिता प्रभावित भएको एन्फाले जनाएको छ । फिफाको निलम्बनका कारण अन्तर्राष्ट्रिय सहभागितासँगै राष्ट्रिय टोलीको तयारी, प्रशिक्षण तथा विभिन्न प्रतियोगितासम्बन्धी गतिविधिमा समेत प्रत्यक्ष असर परेको एन्फाको भनाइ छ। एन्फाका अनुसार निलम्बनपछि महिला तथा पुरुष राष्ट्रिय टोलीको प्रशिक्षण, महिला लिग, राष्ट्रिय लिग, युवा तथा विद्यालयस्तरीय फुटबल प्रतियोगिता, प्रशिक्षक तथा रेफ्री प्रशिक्षणलगायत घरेलु गतिविधिसमेत प्रभावित भएका छन् । संघले निलम्बनका कारण आर्थिक, प्रशासनिक तथा प्राविधिक गतिविधिमा पनि समस्या उत्पन्न भएको जनाएको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद्ले गत मार्च २५ मा गरेको निर्णयलाई समेत उल्लेख गर्दै फिफाको निर्देशनअनुसार समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ । एन्फाले फिफाले कुनै पनि शर्त बिना पूर्ण रुपमा प्रतिबन्ध खारेज गर्ने र एन्फाले आफ्नो विधान र नियम अनुसार, सम्भव भएसम्म चाडो निर्वाचन प्रक्रिया पुरा गर्न पाउनुपर्ने शर्त राखेको स्पष्ट गरेको छ ।

४- रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद दिइएको छ । राष्ट्रिय किताबखानाले सूचना जारी गर्दै विपद्का कारण प्रभावित क्षेत्रमा कार्यरत रही तोकिएको समयभित्र सम्पत्ति विवरण पेश गर्न नसकेका निजामती कर्मचारी, नेपाल प्रहरी तथा शिक्षकका लागि म्याद थप गरेको जनाएको हो । गत २०८३ भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीका कारण नेपाल सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो। सो क्षेत्रमा कार्यरत रही राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण पेश गर्नुपर्ने कानुनी दायित्व भएका तर विपद्का कारण निर्धारित समयभित्र विवरण पेश गर्न नसकेका कर्मचारीलाई म्याद थप गरिएको किताबखानाले जनाएको छ । किताबखानाले थप गरिएको म्यादभित्र सम्पत्ति विवरण पेश गर्दा विपद्का कारण निर्धारित समयमा विवरण पेश गर्न नसकेको स्पष्ट व्यहोरा र कारण खुलाइएको सम्बन्धित कार्यालय प्रमुखबाट जारी आधिकारिक सिफारिसपत्र अनिवार्य रूपमा संलग्न गर्न अनुरोध गरेको छ ।
५- कृष्णभीरको सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत मूल्यमै बेच्ने जानकारी दिएको छ । संघले प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँभन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको हो । संघले शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न आग्रह गरेको हो । त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए ।
त्यस क्रममा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न संघले यसअघि आग्रह गरेको थियो । अवरुद्ध सडकमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन् । त्यससँगै वैकल्पिक मार्गबाट ग्यास ल्याउनुपर्ने अवस्था हटेकाले अब अतिरिक्त ढुवानी खर्च नलिन संघले जनाएको छ । संघले सबै ग्यास उद्योगीलाई नयाँ मूल्यबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत आग्रह गरेको छ ।
६- छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाउन घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय डिल्लीबजार, ३ नं. नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो । अख्तियारका अनुसार उनलाई भदौ ३१ गते पक्राउ गरिएको थियो । विशेष अदालतको आदेशबाट विहिबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
७- नेपाली काँग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्ने कुरा हाम्रो लागि गर्वको विषय हुने बताएका छन् । काँग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले असन्तुष्ट रहेका केन्द्रीय सदस्यहरुलाई स्वागत गर्दै सबै मिलेर असोज १६ गतेसम्म देउवासहितका नेताहरुलाई महाधिवेशनमा सहभागी गराउन प्रयास गर्ने बताएका छन् । देउवाप्रति आफ्नो सम्मान रहेको र महाधिवेशनमा ल्याउन प्रयास गर्ने बताएका हुन् । सभापति थापाले यस बिचमा भएका तिता मिठा कुराहरुलाई बिर्सेर अगाडी बढ्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । महाधिवेशनको मिति सार्ने विषयमा पनि नेताहरुसँग छलफल भएपनि पार्टीको विधान र संबिधानका प्रावधानले त्यो सम्भव नभएको बताए । उनले अहिले बैठकमा नआएका १४औं महाधिवेशनले निर्वाचित गरेका केन्द्रीय सदस्यहरुलाई पनि महाधिवेशनमा सहभागी हुन आव्हान गरेका छन् । उनले भने- ‘मेरो आदरणीय नेता शेरबहादुर देउवालाई विशेष आग्रह छ, अब महाधिवेशनमा सहभागी नहुने कुनै कारण छैन ।’ सभापति थापाले पार्टीमा सबैको योगदान बराबर रहेको भन्दै महाधिवेशन सहभागी भएर पार्टीको जारी विवादबाट बाहिर निस्कनुपर्ने बताए ।
८- नेप्सेमा आज वृद्धि भएको छ । आज विहिबार नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर रोकिएको छ । आज ३३९ कम्पनिका एक करोड ३६ लाख १० हजार ४९६ कित्ता शेयर ५ अर्ब ४९ करोड ९३ लाख १६ हजार ६४३ मा कारोबार भएको थियो । आज लगानी र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, सबैभन्दा बढी धौलागिरी लघुवित्तको शेयर १२.४३ प्रतिशतले बढेको छ भने नारायणी विकास बैंकको शेयर ६.४४ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी हाथवे इन्भेस्टमेन्टको शेयर २.९७ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको ३३ करोड ६२ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २७ करोड २६ लाख बराबरको कारोबार भएको छ ।
९- सिंगापुर सरकारले मानिसलाई किताब तथा लामो लेख पढ्ने बानी विकास गराउन पढेबापत नगद पुरस्कार दिने योजना सुरु गरेको छ । योजनाअन्तर्गत सहभागीले दैनिक कम्तीमा १५ मिनेट किताब वा लामो लेख पढ्नुपर्नेछ । पढेको समय सरकारी वेबसाइटमा दर्ता गरेपछि पुरस्कार अंक प्राप्त हुनेछन् । ती अंकलाई पछि नगदमा परिणत गर्न सकिनेछ । हरेक दिन १५ मिनेट पढे २० भर्चुअल सिक्का प्राप्त हुनेछन् । ५० दिनसम्म लगातार दैनिक १५ मिनेट पढे १ हजार सिक्का पुग्नेछन्, जसलाई १ सिंगापुर डलरमा साट्न सकिनेछ । एक दिनमा एकपटक मात्र पढाइको समय दर्ता गर्न पाइनेछ । सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डले सुरु गरेको यो पाँचवर्षे राष्ट्रिय पठन अभियानको उद्देश्य मानिसलाई मोबाइल फोन, छोटा भिडियो तथा सामाजिक सञ्जालबाट केही समय टाढा राख्दै पढ्ने बानी विकास गर्नु हो ।सरकारले यस वर्ष कुल ७५ लाख मिनेट पढाइको लक्ष्य राखेको छ भने सहभागीलाई प्रोत्साहन गर्न करिब १ करोड १४ लाख रुपैयाँ बराबरको पुरस्कार छुट्याइएको छ ।
विशेषज्ञहरूका अनुसार आर्थिक पुरस्कारले पढ्न रुचि भएका मानिसलाई सुरुवात गर्न प्रेरित गर्न सक्छ । तर पढ्नमा रुचि नै नभएका व्यक्तिमा पैसा मात्रले दीर्घकालीन रूपमा पढ्ने बानी विकास गराउन पर्याप्त नहुन सक्ने उनीहरूको भनाइ छ । सिंगापुर सरकारले छोटो भिडियोबाट आउने तीव्र सूचनाको तुलनामा किताब तथा लामो लेख पढ्दा एकाग्रता, सोच्ने क्षमता र कल्पनाशक्ति विकास गर्न सहयोग पुग्ने भएकाले दैनिक १५ मिनेटको लक्ष्यबाट अभियान सुरु गरेको जनाएको छ ।
१०- ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत दैनिक पुरस्कार विजेताहरूको सूची सार्वजनिक भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा एकै पटक विहिबार सार्वजनिक गरिएको हो । भदौ १ देखि १५ सम्म र भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनको कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गएको छ ।
आज भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना विजेता र १०-१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार घोषणा गरिएको छ । पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ । विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ। नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ ।
११- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले रसुवा विपद्का लागि विभिन्न देश तथा दातृ निकायबाट आएका राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गोमै अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लत्ताकपडालगायतका सामग्री लामो समयदेखि विमानस्थलमै थन्किएको तस्विर देखाउदै भन्सारलगायतका प्रक्रियाका कारण कतिपय संस्था सामग्री बुझ्नबाट फर्किने गरेको जानकारी पाएको पनि बताएका थिए ।
उनले भने- ‘ती सामग्रीहरू किन पठाइएको छैन भन्दा सम्बन्धित क्षेत्रबाट माग आएको छैन भन्ने जवाफ छ । म सरकारको ध्यानाकर्षण गराउँछु, यी सामग्रीहरू जसरी आए, त्यसरी नै खेर नजाऊन् । माग छ कि छैन, सम्बन्धित क्षेत्रका नागरिकहरूलाई बुझियोस् ।’ न्यौपानेले प्रभावित क्षेत्रमा सामग्री आवश्यक भए तत्काल पठाउन र आवश्यक नभए अन्य विपद्का लागि उचित व्यवस्थापन गर्न सरकारसँग आग्रह गरेका छन् ।
१२- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति गहिरो चिन्ता व्यक्त गर्दै कांग्रेसलाई एकताबद्ध राख्न सबै नेता–कार्यकर्तासँग अपिल गरेका छन् । उनले खुला पत्र सार्वजनिक गर्दै कांग्रेसको शक्ति विभाजनमा नभई सहमति, सहकार्य र एकतामा रहेको बताएका हुन् । डा. कोइरालाले नेपाल अहिले राष्ट्रिय रूपमा संवेदनशील मोडमा उभिएको उल्लेख गर्दै राजनीतिक दलहरूले समझदारी र सहकार्यबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । राष्ट्रको अस्तित्व, लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका बिर्सन नहुने उनको भनाइ छ । उनले कांग्रेसको इतिहास संघर्ष, त्याग र बलिदानले निर्माण भएको स्मरण गराउँदै संस्थापक नेता विपी कोइरालालगायतका नेताले छाडेको निष्ठा, आदर्श र नैतिकताको मार्गबाट पार्टी विचलित हुन नहुने बताएका छन् ।
पार्टीमा घोषित दुई महाधिवेशनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा आघात पुग्ने खतरा रहेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न विवेकपूर्ण मध्यमार्गी समझदारी खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्- ‘म कांग्रेस विभाजनबाट रोमाञ्चित हुनै सक्दिन। कांग्रेसमा कोही हार्ने र कोही जित्ने होइन, एकताबद्ध कांग्रेस नै सबैभन्दा ठूलो जित हो ।’ रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीले नागरिक पीडामा रहेको बेला कांग्रेस आन्तरिक विवादमा अल्झिनु दुःखद भएको उनले बताएका छन्। विपद्पीडितको पीडा बुझ्दै पार्टीले मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । डा. कोइरालाले कसैप्रति आरोप–प्रत्यारोप नगर्ने स्पष्ट पार्दै गाउँ, टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेस कार्यकर्तालाई पार्टी एकताको अभियानमा दृढतापूर्वक जुट्न आग्रह गरेका छन् । उनले कांग्रेसको एकता र राष्ट्र निर्माणलाई अलग–अलग रूपमा बुझ्न नसकिने पनि उल्लेख गरेका छन् ।
१३- नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्। बैठकले स्थायी कर्मचारीका परिवारलाई भदौदेखि बढीमा ६ महिनासम्म बेपत्ता कर्मचारीको तहको सुरु तलबमानको ५० प्रतिशत रकम निर्वाहका लागि उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।
१४- काठमाडौं उपत्यकाभित्र संघीय सडकमा देखिएका समस्या तथा बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा ल्याइएको छ । पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एप औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । अब नागरिकले एपमार्फत सडक मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन् ।
दर्ता गरिएको गुनासोको अवस्था र समाधान प्रक्रिया एपमार्फत हेर्न सकिनेछ भने गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत प्राप्त हुनेछ । हाल उपत्यकाभित्र संघीय सडकअन्तर्गतका करिब ४ सय ७२ किलोमिटर सडकबारे गुनासो तथा सुझाव दिन सकिने व्यवस्था गरिएको छ। संघीय सडकअन्तर्गत नपर्ने सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारी पनि एपमार्फत उपलब्ध गराइनेछ । एपलाई आगामी दुई साताभित्र ललितपुर र भक्तपुरमा विस्तार गर्ने तथा क्रमशः देशभर सञ्चालनमा ल्याउने तयारी गरिएको सडक डिभिजन काठमाडौंले जनाएको छ ।
१५- सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय खरिद प्रणालीमा देखिएको उच्च सुरक्षा जोखिमका कारण प्रणाली तत्कालका लागि स्थगित भएकाले हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने र दाखिला गर्ने व्यवस्था गरिएको जानकारी दिएको छ । कार्यालयले प्रणालीको मर्मतसम्भार तथा सुधार गरी यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने काम भइरहेको जनाउदै प्रणाली पुनः सञ्चालनमा नआएसम्म सार्वजनिक खरिद प्रक्रिया प्रभावित नहोस् भनेर हुलाकमार्फत बोलपत्र कागजात प्राप्त गर्ने र दाखिला गर्ने व्यवस्था गरिएको जानकारी दिएको हो ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ४८ को उपनियम (२) तथा कार्यालयले जारी गरेको नमुना बोलपत्र कागजातमा रहेको व्यवस्था बमोजिम बोलपत्रदाता आफैँ, हुलाक वा कुरियरमार्फत बोलपत्र बुझाउन सक्ने प्रावधान लागू हुने कार्यालयले जनाएको छ । कार्यालयको २०८३ भदौ ३० गतेको सचिवस्तरीय निर्णयअनुसार कार्यालयले तोकिएको समयभित्र हुलाकमार्फत बोलपत्र कागजात सम्बन्धित कार्यालयमा दाखिला गर्न सकिने व्यवस्था मिलाउन सम्बन्धित सबै सार्बजनिक निकायलाई जानकारी गराएको छ ।
१६- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक खण्डमा आजदेखि दुईतर्फी यातायात सञ्चालन भएको छ । भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सञ्चालन हुँदै आएको सडकमा आवश्यक पूर्वाधार निर्माणको काम सकिएसँगै आजदेखि दुईतर्फी यातायात सञ्चालन गरिएको हो । भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो । त्यसपछि भदौ १४ गते आएको अर्को बाढीले पर्खाल भत्काएपछि उक्त सडक खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
अवरुद्ध सडक खुलाउन पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा अध्ययन गरेपछि कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ सडक मार्ग निर्माण गरिएको हो । सुझावअनुसार भदौ १९ गतेदेखि रुख कटान गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ सडक मार्ग निर्माण गरिएको हो । प्राविधिकसहित ५० जनाले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेपछि काम सुरु भएको दसौँ दिनमै भदौ २८ गतेदेखि ग्यास बुलेटसहित केही सवारी साधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो ।
१७- काराबाओ कपको तेस्रो चरणमा म्यानचेस्टर युनाइटेडले दुई गोलको अग्रता गुमाउँदै ब्राइटनसँग ३–२ को हार बेहोरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा युनाइटेडले सुरुवातमै दुई गोल गरे पनि दोस्रो हाफमा ब्राइटनले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम १६ मा स्थान बनाएको हो । यो हारसँगै युनाइटेडका लागि घरेलु कप प्रतियोगितामा लगातार तेस्रो चरणमै निराशाजनक नतिजा आएको छ । अघिल्लो सिजनको काराबाओ कपमा युनाइटेड चौथो श्रेणीको ग्रिम्स्बी टाउनसँग पराजित भएको थियो भने एफए कपमा पनि ब्राइटनसँग पराजित भएको थियो । बुधबारकै अन्य खेलमा एभर्टनले उल्भरह्याम्पटनलाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ । त्यस्तै, फ्लीटवुड टाउनले शेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै अर्को चरणमा प्रवेश गरेको छ । कोभेन्ट्री सिटीलाई ३–१ ले हराउँदै एस्टन भिल्लाले पनि अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
१८- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा नियमावली, २०८३ का दुईवटा व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू कुमार रेग्मी, डा. नहकुल सुवेदी, विनोद शर्मा र शारङ्गा सुवेदीको संवैधानिक इजलासले बुधबार (भदौ ३१) उक्त अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलकी नेता कमलादेवी पन्तसहितले संघीय संसद सचिवालय सिंहदरबारलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण रिटमाथि सुनुवाइ गर्दै अदालतले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम १४० को उपनियम (११) र नियम २५९ हाल कार्यान्वयन नगरी यथास्थितिमा राख्न विपक्षीहरूका नाममा अन्तरिम आदेश दिएको हो ।
प्रतिनिधिसभाले २०८३ जेठ १७ गते पारित गरेको नियमावलीको नियम १४०(११) मा संविधान संशोधन प्रक्रिया तथा प्रमाणीकरणको विधि उल्लेख थियो । जसमा भनिएको थियो- ‘सभाद्वारा पारित भई राष्ट्रिय सभामा पठाइएको संविधान संशोधनसम्बन्धी विधेयक सन्देशसहित प्राप्त भएपछि प्रस्तावको पक्षमा प्राप्त भएको जम्मा मत दुवै सदनमा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाई पुगेको भए संविधान संशोधनको विधेयक सभामुखले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछ । त्यस्तै, नियम २५९ मा विधायिकाले बनाएका विषयगत ऐनहरूलाई समेत निष्क्रिय हुने गरी संघीय कानुनको रूपमा विशेष कानुन सरह लागू हुने प्रावधान राखिएको थियो ।
जसमा भनिएको थियो- ‘नियमावली लागू हुने : (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुनेछ । (२) यो नियमावली प्रतिनिधि सभा सदस्यको विशेषाधिकारको रूपमा रहनेछ ।’ सर्वोच्च अदालतले उक्त प्रावधानहरू संवैधानिक प्रबन्धको प्रतिकूल देखिएको र कार्यान्वयन भएमा अपूरणीय क्षति पुग्न सक्ने ठहर गरेको छ । त्यस्तै, अदालतले विपक्षीहरूलाई आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको छ भने लिखित जवाफ प्राप्त भएको वा पर्ने अवधि व्यतीत भएको १५ दिनभित्र प्राथमिकतामा पर्ने गरी अग्राधिकार दिएर पेस गर्न पनि इजलासले आदेश दिएको छ ।
१९- यमनका हुथी समूहले साउदी अरबको एफ–१५ लडाकु विमान खसालेको दाबी गरेको छ । हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार मारिब प्रान्तको आकाशमा सैन्य गतिविधिमा रहेको विमानलाई स्थानीय रूपमा निर्मित क्षेप्यास्त्र प्रयोग गरी खसालिएको हो । हुथीले विमानको अवशेष देखाइएको भिडियोसमेत सार्वजनिक गरेको छ । तर साउदी पक्षले विमान खसालिएको दाबीको पुष्टि गरेको छैन । यसैबीच, साउदी नेतृत्वको गठबन्धनले हुथीले मक्कातर्फ ड्रोन पठाएको आरोप लगाएको छ । साउदी वायु रक्षा प्रणालीले ड्रोनलाई मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै नष्ट गरेको गठबन्धनको भनाइ छ । हुथीले भने मक्कालाई निशाना बनाएको आरोप अस्वीकार गर्दै साउदीको दाबीलाई झुटो भएको बताएको छ । पछिल्लो घटनाक्रमसँगै साउदी अरब र हुथीबीचको सैन्य तनाव थप बढेको छ ।
२०- स्पेनिस ला लिगाअन्तर्गत बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७–२ को फराकिलो जित निकाल्दै लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ । घरेलु मैदानमा भएको खेलमा राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । बार्सिलोनाले आठौँ मिनेटमै जोआओ कान्सेलोको शानदार लामो दूरीको प्रहारबाट अग्रता लिएको थियो । २५औँ मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
रेसिङ सान्टान्डरका माग्वेटे गुएले ३०औँ मिनेटमा गोल गर्दै अन्तर घटाए पनि बार्सिलोनाले त्यसपछि लगातार दबाब बढायो। ३६औँ मिनेटमा रेसिङ सान्टान्डरका एसियर भिल्लालिब्रेले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३–१ ले अघि बढ्यो। पहिलो हाफको अन्त्यतिर राफिन्हाले अर्को गोल थपेपछि बार्सिलोना ४–१ को अग्रतासहित पहिलो हाफमा गएको थियो । दोस्रो हाफमा रेसिङ सान्टान्डरका यासिर जबिरीले ६५औँ मिनेटमा गोल गर्दै अन्तर घटाएर खेल ४–२ को अवस्थामा ल्याएका थिए । तर त्यसको दुई मिनेटपछि नै राफिन्हाले पेनाल्टीमार्फत आफ्नो ह्याट्रिक पूरा गरे । बार्सिलोनाका लागि गाब्रियल जेसुसले ७९औँ मिनेटमा गोल थपे। खेल सकिन एक मिनेट बाँकी रहँदा लामिन यामालले गोल गरेपछि बार्सिलोनाले ७–२ को फराकिलो जित पक्का गरेको थियो । यो जितसँगै बार्सिलोनाले लिगका सुरुवाती छवटै खेल जित्दै १८ अंक जोडेको छ । टोलीले यी छ खेलमा २८ गोल गरेको छ र शीर्ष स्थानमा रहेको छ ।