काठमाडौं । द ब्रिटिस कलेजको भगिनी संस्था ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)ले काठमाडौंमा एसीसीएको प्रस्तुति: बीपीसी क्रिकेट लिग २०२६ आयोजना गर्ने भएको छ ।
चारदिने घरेलु क्रिकेट प्रतियोगिता सेप्टेम्बर २३ देखि २६ सम्म बूढानीलकण्ठको चुनिखेलस्थित रोयल स्पोट्र्स पार्कमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा एसीसीएका विद्यार्थी, एफिलिएट, सदस्य, एसीसीए स्वीकृत शैक्षिक साझेदार, स्वीकृत रोजगारदाता तथा व्यक्तिगत एसीसीए सदस्यका टोली सहभागी हुनेछन् । प्रतियोगितामा विभिन्न संस्था तथा एसीसीए समुदायको प्रतिनिधित्व गर्ने १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा ब्रिटिस प्रोफेसनल कलेजका दुई, सर्टिफाइड कलेज अफ अकाउन्टेन्सीका तीन, सीड एकेडेमीका दुई तथा लर्निङ पार्क, ब्राइट एकेडेमी, फिन्ट लर्निङ हब, एम्बार्क कलेज, शिक्ष्या एकेडेमी, जीएनएस एस्ट्रा, स्लुगर्स र एजीके पार्टनर्सका एक–एक टोली सहभागी हुनेछन् ।


कुल पुरस्कार राशी एक लाख ५० हजार रुपैयाँ रहेको प्रतियोगिताको मुख्य प्रायोजक एसीसीएले जनाएको छ । आवान ट्रेडिङ, अष्ट्रिक्स एजुकेसनल हब, शुभम् इन्टरनेसनल हस्पिटल र एजीके पार्टनर्सले प्रतियोगितालाई सहयोग गरेका छन् ।

खेलकुदमार्फत एसीसीए समुदायबीच सहकार्य, नेतृत्व, टिमवर्क, सञ्चार र नेटवर्किङलाई प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बीपीसीले जनाएको छ । प्रतियोगिताले विद्यार्थी, पेसागत जनशक्ति तथा एसीसीए सदस्यलाई कक्षाकोठा र कार्यस्थलभन्दा बाहिर एउटै खेलकुद मञ्चमा जोड्ने आयोजकको भनाइ छ ।

ब्रिटिस प्रोफेसनल कलेजले नेपालमा सन् २०१३ देखि एसीसीए कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले एसीसीएको उच्चतम तहको शैक्षिक प्रदायक मान्यता ‘प्लाटिनम स्टाटस’ प्राप्त गरेको जनाएको छ । बीपीसी, द ब्रिटिस कलेजको भगिनी संस्था हो ।