काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई तारेखमा छोड्न परमादेश जारी गरेको छ।
दाहालकी छोरी डेनिका दाहालले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।
बयान सम्पन्न भइसकेको र हिरासतमा नै राखेर अनुसन्धान गर्नुपर्ने आधार र कारण नभएको ठहर गर्दै दाहाललाई आजकै मितिबाट तारेखमा छोड्न नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्युरो,भोटाहिटीका नाममा सर्वोच्चले परमादेश जारी गरेको हो।
मंगलबार सर्वोच्च अदालतले पक्राउ गर्नुको कारणसहित दाहाललाई अदालत उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार दाहाललाई बिहीबार बिहान अदालत पेश गरिएको थियो।
उच्च राजनीतिक व्यक्तिहरूबारे भ्रामक प्रचार गरेको आरोपमा प्रहरीले दाहाललाई मोरङको सुन्दरहरैँचाबाट नियन्त्रणमा लिएको थियो। दाहालकी छोरी डेनिका दाहालले गैरकानुनी रूपमा आफ्ना बुवालाई पक्राउ गरी थुनामा राखिएको भन्दै रिहाइको माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।

उक्त रिटमा अधिवक्ताहरू ध्रुवलाल श्रेष्ठ, शेरबहादुर केसी, कीर्तिनाथ शर्मा पौडेल,राजु शाक्य र सुवाससिंह धामीलगायतले बहस गरेका थिए।
