काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई संवेदनशील सूचना चुहावटसम्बन्धी आरोपमा निलम्बन गरेको छ।
गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले पदीय आचरणविपरीत कार्य गरेको भन्ने सम्बन्धमा सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि सिफारिस प्राप्त भएपछि त्यस विषयमा छानबिन अघि बढाइएको हो।
मन्त्रालयले आज सोमबारको निर्णयअनुसार दाहाललाई निलम्बन गरी उनीमाथि लागेको आरोप तथा पदीय आचरणसम्बन्धी विषयमा जाँचबुझ गर्न जाँचबुझ अधिकृत तोकेको जनाएको छ। तोकिएका जाँचबुझ अधिकृतले तीन दिनभित्र छानबिन सम्पन्न गरी गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था गरिएको छ।
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको र पदीय आचरणविपरीत कार्य गरेको आरोपमा कारबाहीको सिफारिस गरिएको थियो।
मन्त्रालयले शान्ति, सुरक्षा तथा राज्यका संवेदनशील सूचनाको संरक्षणलाई प्राथमिकतामा राख्दै गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्न सक्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको पनि जनाएको छ।

विज्ञप्तिमा कानुनविपरीत हुने हरेक गतिविधि वा घटनामा प्रचलित कानुनबमोजिम कारबाही गरिने उल्लेख गर्दै गृह मन्त्रालयले विधिको शासन, कानुनको पालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

दाहालमाथि लागेको आरोपको अन्तिम टुंगो भने जाँचबुझबाट प्राप्त हुने प्रतिवेदन तथा त्यसका आधारमा हुने थप कानुनी प्रक्रियाबाट लाग्नेछ।
