काठमाडौं । बागमती प्रदेश सरकारले बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न स्थानमा सातवटा पुल निर्माण गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामा आज बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट प्रभावित क्षेत्रको यातायात सम्पर्क पुनःस्थापनाका लागि पाँचवटा झोलुङ्गे पुल र दुईवटा बेलिब्रिज निर्माण गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसीका अनुसार नुवाकोटमा तीनवटा र रसुवामा दुईवटा झोलुङ्गे पुल निर्माण गरिनेछ । नुवाकोटको विदुर नगरपालिका–४ स्थित मेरिस्टोप मार्गदेखि वडा नं १२ को कफीबारी जोड्ने स्थान, सिम्तचौर र तिर्तिरे भीरमा झोलुङ्गे पुल निर्माण गरिनेछ । त्यस्तै रसुवाको स्याफ्रुबेँसी र थुमनबाट लिङलिङ जोड्ने स्थानमा एक–एकवटा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय भएको मन्त्री केसीले जानकारी दिए ।
उनका अनुसार नुवाकोटको फलाखु खोलास्थित कुवापानी र विदुरस्थित त्रिशूली नदी वारपार गर्ने स्थानमा एक–एकवटा बेलिब्रिज निर्माण गरिनेछ ।
बैठकले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण, राहत तथा पुनःस्थापनाका लागि थप आर्थिक स्रोत व्यवस्थापन गर्न विभिन्न मन्त्रालयका प्रस्तावित कार्यक्रमको बजेट कटौती गर्ने निर्णयसमेत गरेको छ । मन्त्री केसीका अनुसार कटौती गरिएको बजेट विपद् व्यवस्थापन तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा परिचालन गरिनेछ ।
