काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैँको रौनक र रमझम देशैभर सुरु भइसकेको छ।
गाउँघर र सहरमा चाडबाडको खुसी छााइरहँदा देशको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीका लागि घरपरिवार छोडेर परदेशिने युवाहरूको बाक्लो भीड देखिएको छ।
बडादशैँको तेस्रो दिन मंगलबार पनि परिवार, आफन्त र साथीभाइसँगै बसेर दशैँ मनाउने खुसी त्याग्दै रोजगारीको सिलसिलामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने नेपाली युवाहरूको सङ्ख्या उल्लेख्य छ।
चाडबाडको मुखमा आफन्त र प्रियजनसँग छुट्टिनुपर्दा विमानस्थल परिसरमा भावुक दृश्यहरू देखिएका छन्। हातमा पासपोर्ट र मनमा अनेकौं सपना बोकेर उड्न लागेका युवाहरूका आँखामा परिवारको सुन्दर भविष्यको आशासँगै चाडपर्वमा घर छाड्नुपर्दाको पीडा प्रस्टै झलकन्थ्यो। उनीहरूलाई बिदा गर्न आएका अभिभावक तथा आफन्तजनहरू पनि आँसु पुछ्दै शुभकामनाका साथ बिदाइ गरिरहेका थिए।
चाडपर्वका बेला पनि रोजगारी र जीविकोपार्जनका लागि दैनिक हजारौँ युवाहरू खाडी मुलुक, मलेसिया, युरोप लगायतका गन्तव्यतर्फ प्रस्थान गर्न बाध्य छन्।


