काठमाडौं । बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको ब्रान्ड ‘बन्दीपुरहिल’ ले दशैं–तिहार २०२६ को अवसरमा ‘बन्दीपुर फेस्ट’ आयोजना गर्ने भएको छ।
महोत्सवअन्तर्गत स्थानीय परिकार, सांस्कृतिक कार्यक्रम, साहसिक गतिविधि तथा पारिवारिक मनोरञ्जनका विविध कार्यक्रम सञ्चालन गरिने कम्पनीले जनाएको छ।
बन्दीपुर केवलकारको लोअर स्टेसनमा दुई चरणमा गरी ९ दिने फुड फेस्टिभल आयोजना हुनेछ। पहिलो चरण असोज २८ गतेदेखि कात्तिक १ गतेसम्म र दोस्रो चरण कात्तिक ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवमा स्थानीय परिकार, रमाइला खेल, सांस्कृतिक प्रस्तुति, बालबालिका तथा परिवारका लागि विशेष गतिविधि र किड्स जोन रहनेछन्।
त्यस्तै, केवलकार, जिपलाइन र स्काई साइकलिङलगायत साहसिक गतिविधिसमेत समेटिनेछन्। कार्यक्रम सबैका लागि खुला रहने र प्रवेश नि:शुल्क हुने आयोजकले जनाएको छ।

दशैं–तिहार अभियानअन्तर्गत बन्दीपुरहिलले प्रमुख यात्रा मार्ग तथा विभिन्न स्थानमा रहेका पर्यटन साझेदारमार्फत प्रवद्र्धनात्मक कुपन पनि वितरण गर्ने जनाएको छ।

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका मार्केटिङ म्यानेजर विभु गौतमले बन्दीपुरहिललाई नेपालको प्रिमियम पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित कम्पनी अघि बढिरहेको बताए।

उनका अनुसार ‘बन्दीपुर फेस्ट’ ले राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा परिवारलाई बन्दीपुरको संस्कृति, स्वाद र साहसिक अनुभवसँग जोड्ने अवसर प्रदान गर्नेछ।
कार्यक्रम संयोजक सुरज राईले महोत्सव दुई चरणमा सञ्चालन हुने जानकारी दिँदै स्थानीय बासिन्दा तथा आगन्तुकलाई उत्सवमय वातावरणमा सहभागी गराउने उद्देश्य रहेको बताए।
बन्दीपुरहिल प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, सांस्कृतिक अनुभव, साहसिक गतिविधि तथा आधुनिक सुविधालाई एउटै गन्तव्यमा समेटिएको पर्यटकीय क्षेत्रका रूपमा विकास गरिएको कम्पनीले जनाएको छ। यहाँ केवलकार, फाइन डाइनिङ रेस्टुरेन्टलगायत विभिन्न सुविधा उपलब्ध छन्।