काठमाडौं । भोटेकोशी तथा बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित ऋणीलाई नेपाल राष्ट्र बैंकले कर्जा भुक्तानीका लागि थप तीन महिनाको समय दिएको छ ।
बाढीका कारण व्यवसाय, आयोजना तथा आम्दानीमा असर परेका ऋणीलाई राहत दिने उद्देश्यले केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै बाढी प्रभावित क्षेत्रका उद्यम, आयोजना र व्यवसायका साथै रसुवा भन्सार नाकाबाट हुने आयात–निर्यातमा आधारित व्यवसायका ऋणीलाई कर्जा भुक्तानीको म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकका अनुसार बाढीका कारण बिक्री तथा आम्दानी, नगद प्रवाह र मौज्दात रकममा परेको असरको विश्लेषण गरी किस्ता भुक्तानी गर्न कठिनाइ भएका ऋणीलाई यो सुविधा उपलब्ध गराउन सकिनेछ। साथै, कर्जाको सदुपयोगिताको यथार्थपरक विश्लेषण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार २०८३ असोज मसान्तमा भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजको किस्ता सम्बन्धित बैंक तथा वित्तीय संस्थाले २०८३ पुस मसान्तसम्मका लागि थप गर्न सक्नेछन् । यसले बाढीबाट प्रभावित व्यवसायी तथा उद्यमीलाई तत्कालको आर्थिक दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गर्दै एकीकृत निर्देशनमा संशोधन गरी उक्त व्यवस्था लागू गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

यो व्यवस्था इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, लघुवित्त वित्तीय संस्था तथा पूर्वाधार विकास बैंकका लागि जारी गरिएको परिपत्रमार्फत कार्यान्वयनमा ल्याइएको हो ।