काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २८ औँं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पोखरास्थित होटल पोखरा ग्राण्डमा सम्पन्न साधारणसभाले संस्थापक शेयरधनीहरूको तर्फबाट रोशन केसी, मुकुन्द महत तथा सुश्री कृति महतोलाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी, सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वप्रकाश गौतमलाई निर्विरोध निर्वाचित गरिएको बैंकले जनाएको छ ।
साथै, त्यसपश्चात बसेको बैंक सञ्चालक समितिको बैंठकले बैंक सञ्चालक समितिको अध्यक्ष पदमा आगामी ४ वर्षे कार्यकालका लागि रोशन केसीलाई पुन: नियुक्ति गर्ने निर्णय गरेको छ ।


यसका साथै, बैंकको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई चुक्ता पुँजीको ६ प्रतिशत लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये, चुक्तापूँजीको ३ प्रतिशत नगद र ३ प्रतिशत बोनस शेयर गरी जम्मा ६ प्रतिशत (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।

बोनस शेयर वितरणपश्चात बैंकको कुल साधारण चुक्ता पुँजी १२ अर्ब ४५ करोड पुग्नेछ भने अग्राधिकार सेयरसहित बैंकको चुक्ता पुँजी १५ अर्ब ४५ करोड पुग्नेछ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९५ करोड खुद नाफा आर्जन गरी प्रतिशेयर आम्दानी १६ रुपैयाँ १७ पैसा कायम गरेको थियो ।