काठमाडौं । सरकारले नेपालको औद्योगिक विकास, उत्पादनको गुणस्तर सुधार तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण गर्ने उद्देश्यले नेपाल प्रत्यायन केन्द्र स्थापना गरेको छ ।
त्रिपुरेश्वरस्थित केन्द्रको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरेका हुन् ।
केन्द्रको सञ्चालनले उद्योगको उत्पादन लागत घटाउने, उपभोक्ताको विश्वास बढाउने र नेपाली उत्पादनलाई विश्व बजारसँग जोड्ने काममा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउने, उपभोक्ताले गुणस्तरीय तथा सुरक्षित वस्तु र सेवा प्राप्त गर्ने सुनिश्चितता बढाउने र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार केन्द्र सञ्चालनमा आएसँगै प्रयोगशाला, चिकित्सकीय प्रयोगशाला, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा प्राप्त गर्न सक्ने आधार तयार भएको छ । यसबाट उद्योगी तथा व्यवसायीको परीक्षण र प्रमाणीकरणमा लाग्ने समय तथा खर्च घट्नुका साथै उत्पादनको गुणस्तर सुधार गर्न र विदेशी निकायमाथिको निर्भरता कम गर्न सहयोग पुग्नेछ ।

केन्द्रको स्थापनाले खाद्य पदार्थ, औषधिजन्य उत्पादन, निर्माण सामग्री तथा विद्युतीय उपकरणलगायत वस्तुको गुणस्तर परीक्षण गर्ने संस्थाको विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ । यसले वस्तु तथा सेवाको गुणस्तरप्रति उपभोक्ताको भरोसा बढाउनुका साथै आम नागरिकको स्वास्थ्य, सुरक्षा र हित संरक्षणमा समेत योगदान पुर्याउनेछ ।

त्यस्तै, नेपालको निर्यात व्यापारलाई सहज बनाउन अन्तर्राष्ट्रिय प्रत्यायन तथा पारस्परिक मान्यताको व्यवस्था विकास गर्न पनि केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ । यसबाट नेपाली उत्पादनको गुणस्तरप्रति अन्तर्राष्ट्रिय बजारमा विश्वास बढ्ने र निर्यातकर्ताले बेहोर्नुपर्ने लागत तथा प्रक्रियागत झन्झट घट्ने अपेक्षा गरिएको छ ।

नागरिकले सुरक्षित वस्तु तथा सेवा प्राप्त गर्ने, उद्योगीले अनावश्यक खर्च र प्रक्रियागत झन्झटबाट मुक्ति पाउने तथा नेपाली उत्पादनले विश्व बजारमा सम्मानजनक स्थान हासिल गर्ने लक्ष्यसहित केन्द्र स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।