काठमाडौं । नेपाली विद्युतीय सवारीसाधन बजारमा नयाँ विद्युतीय क्रसओभर ‘CHERY Q’ सार्वजनिक भएको छ। नेपालका लागि चेरी गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रा.लि.ले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको हो।

आधुनिक प्रविधि, प्रिमियम आराम, आकर्षक डिजाइन र अत्याधुनिक सुरक्षा सुविधासहित बजारमा ल्याइएको CHERY Q ले नेपाली ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षा पूरा गर्ने कम्पनीको विश्वास छ।
CHERY Q मा ४१.२ किलोवाट आवर क्षमताको LFP ब्याट्री प्याक र रियर ह्विल ड्राइभ (RWD) पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनस मोटर जडान गरिएको छ। उक्त मोटरले अधिकतम ९० किलोवाट पावर र ११५ एनएम टर्क उत्पादन गर्छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्ज गर्दा यसले NEDC परीक्षण चक्रअनुसार ४०० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ। फास्ट चार्जिङ प्रविधिमार्फत ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब १६.५ मिनेट लाग्ने कम्पनीको दाबी छ।


आकारका हिसाबले CHERY Q को लम्बाइ ४ हजार १९५, चौडाइ १ हजार ८११ र उचाइ १ हजार ५६८ मिलिमिटर रहेको छ। यसको ह्विलबेस २ हजार ७०० मिलिमिटर र ग्राउन्ड क्लियरेन्स १७५ मिलिमिटर छ। नेपाली सडक तथा विभिन्न ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएको यस गाडीमा ७० लिटर क्षमताको अगाडिको स्टोरेज (फ्रङ्क) र ३७५ लिटरको पछाडिको बुट स्पेस उपलब्ध छ। पछाडिका सिट फोल्ड गर्दा बुट स्पेसलाई १ हजार ४५० लिटरसम्म विस्तार गर्न सकिन्छ। आरामदायी र स्थिर यात्राका लागि अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिङ्क सस्पेन्सन प्रणाली राखिएको छ।

सुरक्षालाई प्राथमिकता दिँदै गाडीमा ६ वटा एयरब्याग, ५४० डिग्री प्यानोरामिक क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC) र हिल असिस्टजस्ता सुविधा समावेश गरिएको छ। त्यस्तै, एडाप्टिभ क्रुज कन्ट्रोल, लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन र अटोमेटिक इमर्जेन्सी ब्रेकिङलगायतका एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) सुविधाले ड्राइभिङलाई थप सुरक्षित र सहज बनाउने कम्पनीको भनाइ छ।
