काठमाडौं । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले नयाँ विद्युतीय गाडी बी०३एक्सको डेलिभरी सुरु गरेको छ । प्रारम्भिक बुकिङपछि पहिलो समूहका ग्राहकलाई गाडी हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंमा सडक परीक्षण र औपचारिक सार्वजनिक कार्यक्रम सम्पन्न भएपछि गाडीको डेलिभरी सुरु गरिएको हो । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले ग्राहकको उत्साहजनक प्रतिक्रियाले आफूहरूलाई थप उत्साहित बनाएको बताए ।
लिपमोटर बी०३एक्समा १४५ किलोवाटको मोटर, ५३ किलोवाट आवरको ब्याट्री र १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ । यसले सीएलटीसी मापदण्डअनुसार एकपटकको चार्जमा ५०५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । गाडीलाई ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न १६ मिनेट लाग्ने बताइएको छ ।
गाडीमा १४.६ इन्चको टचस्क्रिन, १२ स्पिकरयुक्त साउन्ड सिस्टम र लेभल २ एडीएएस सुरक्षा प्रविधि छन् । यसको बुट क्षमता ५१० लिटर रहेको छ, जसलाई पछाडिका सिट फोल्ड गर्दा १ हजार ६०५ लिटरसम्म विस्तार गर्न सकिन्छ ।
लिपमोटर स्टेलान्टिस समूहको विश्वव्यापी समर्थन प्राप्त चिनियाँ विद्युतीय सवारी ब्रान्ड हो । कम्पनीका अनुसार, विश्वभर १९ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको छ भने ४५ भन्दा बढी देशमा दुई हजारभन्दा बढी बिक्री तथा सेवा केन्द्र सञ्चालनमा छन् ।
