काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
लघुवित्तले मंसिर २३ गते, बुधबार, आईएमई हस्पिटालिटी प्रा.लि.,स्ट्रीट नं. ३, लेकसाइड, पोखरा, कास्कीमा बिहान ९ बजे १४ औँ वार्षिक साधारण सभा डाकेको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले मंसिर ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
