काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा स्थानीय आर्थिक गतिविधि पुनरुत्थानमा सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
आइतबार (मंसिर ६) भारतको राजधानी नयाँ दिल्लीमा भएको समझदारीपत्रमा भारतीय उद्योग परिसंघका तर्फबाट सीआईआई इन्टरनेसनल काउन्सिलका सहअध्यक्ष विक्रमजीत सिंह साहनी र नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट उपाध्यक्ष कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका हुन् ।
समझदारीअनुसार दुवै संस्थाले बाढी प्रभावित समुदायको तत्कालीन स्वास्थ्य तथा सरसफाइसम्बन्धी आवश्यकता पूरा गर्न तथा जीविकोपार्जन र स्थानीय आर्थिक गतिविधि पुनर्स्थापना गर्न संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रमको पहिलो चरणमा स्वास्थ्य सेवा र राहतलाई प्राथमिकता दिइने महासंघले जनाएको छ ।
यसअन्तर्गत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वास्थ्य सामग्री (वास किट) वितरण र अस्पतालहरूलाई एम्बुलेन्स उपलब्ध गराउने योजना छ ।
स्वास्थ्य शिविरमार्फत सामान्य स्वास्थ्य परीक्षण, मातृ तथा बाल स्वास्थ्य सेवा, बाढीपछि देखिन सक्ने पानीजन्य तथा अरू संक्रामक रोगको पहिचान र उपचारमा सहयोग गरिनेछ ।

प्रभावित समुदायका परिवारलाई व्यक्तिगत सरसफाइ, सुरक्षित खानेपानी तथा रोगको संक्रमण रोकथामका निम्ति आवश्यक सामग्री उपलब्ध गराइनेछ । दुई अस्पताललाई अत्यावश्यक जीवनरक्षा सेवासहितका एम्बुलेन्स उपलब्ध गराउने प्रस्ताव समेत समझदारीपत्रमा समेटिएको छ ।

समझदारीअनुसार पहिलो चरणको स्वास्थ्य तथा राहत कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । यसनिम्ति प्रभावित क्षेत्रको स्थलगत आवश्यकता मूल्यांकन, लाभग्राही पहिचान, कार्यक्रम सञ्चालनस्थल निर्धारण तथा आवश्यक सरकारी स्वीकृति लिने प्रक्रिया अघि बढाइनेछ ।

कार्यक्रमको दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनर्स्थापनामा सहयोग गरिनेछ । यसअन्तर्गत कृषि, पशुपालन, साना व्यवसाय तथा स्थानीय सेवामूलक उद्यम पुनः सञ्चालनका निम्ति आवश्यक औजार, उपकरण, सीप विकास तथा व्यावसायिक तालिम उपलब्ध गराउने प्रस्ताव छ ।

बाढीबाट प्रभावित सूक्ष्म, लघु तथा साना उद्यम (एमएसएमई)को पुनरुत्थानका निम्ति प्राविधिक सहयोग, वित्तीय पहुँचसम्बन्धी जानकारी, बजार सम्पर्क तथा नेपाली र भारतीय उद्योगी, व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तारमा सहकार्य गरिनेछ । प्रभावित जिल्लाको स्थानीय आर्थिक पुनरुत्थान तथा विकास योजना निर्माणमा समेत सहयोग गर्ने समझदारी भएको छ ।
समझदारीअनुसार भारतीय उद्योग परिसंघले भारतीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय, कार्यक्रमका निम्ति आवश्यक स्रोत परिचालन र कार्यान्वयन साझेदार पहिचान गर्नेछ । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार तथा स्थानीय निकायसँग समन्वय, आवश्यक स्वीकृति तथा सहजीकरण, स्थानीय उद्योगी व्यवसायीको सहभागिता र कार्यक्रमको स्थानीय व्यवस्थापनमा भूमिका निर्वाह गर्नेछ ।
कार्यक्रम वाग्मती प्रदेशका रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । आवश्यकता र सम्भाव्यताका आधारमा गोरखा, बागलुङ तथा दोस्रो चरणको बाढीबाट प्रभावित मुस्ताङ र मनाङलगायत क्षेत्रमा समेत कार्यक्रम विस्तार गर्न सकिने समझदारीपत्रमा उल्लेख छ । अन्तिम कार्यक्षेत्र भने स्थलगत अध्ययन र नेपाल सरकार तथा स्थानीय निकायसँगको समन्वयमा निर्धारण गरिनेछ ।
एक वर्षका निम्ति लागु हुने समझदारीपत्रमा दुवै पक्षको आपसी सहमतिमा विशेष कार्यक्रम, स्रोत परिचालन तथा वित्तीय व्यवस्थासम्बन्धी थप सहमति छुट्टै गर्न सकिने व्यवस्था गरिएको महासंघले जनाएको छ ।