काठमाडौं । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सम्पन्न उच्चस्तरीय वार्तापछि भारतले नेपालका लागि विकास सहायता, पारवहन, ऊर्जा, शिक्षा, प्रविधि र पूर्वाधारका क्षेत्रमा ठूलो घोषणा गरेको छ ।
संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण र दीर्घकालीन विकासलाई गति दिन ऐतिहासिक निर्णयहरू गरिएको बताएका हुन् ।
यस्ता छन् भारतले नेपाललाई उपलब्ध गराउने प्रमुख सहयोग, परियोजना र सहुलियतहरूः
२ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता प्याकेज
गत अगस्टमा नेपालमा आएको भीषण बाढीपहिरोबाट भएको क्षतिप्रति समवेदना व्यक्त गर्दै मोदीले नेपालको पुनर्निर्माण, विपद् प्रभावित परिवारको जीवन पुनः लयमा फर्काउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यका विपद्सँग जुध्ने क्षमता बलियो बनाउन २४ हजार करोड नेपाली रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहायता प्याकेज घोषणा गरेका छन् ।

काण्डला र पारादीप बन्दरगाहमा पहुँच

नेपालको तेस्रो मुलुकसँगको पारवहन व्यापारलाई अझ सुगम र सहज बनाउन भारतले काण्डला र पारादीप समुद्री बन्दरगाहको पहुँच उपलब्ध गराउने घोषणा गरेको छ । यसले नेपालको आयात–निर्यात र लजिस्टिक लागत घटाउन ठुलो टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपालले भारतसँग मुन्द्रा र धाम्मा बन्दरगाहको पहुँच मागेको थियो ।

‘सरयू–कमला एक्सप्रेस’ रेल, धार्चुला पुल र आईसीपी
दुवै देशको धार्मिक तथा सांस्कृतिक पर्यटन र जनस्तरको सम्बन्ध जोड्न अयोध्या र जनकपुर जोड्ने ‘सरयू–कमला एक्सप्रेस’ रेल सेवा सुरु गरिएको छ । यसबाट अयोध्या आउने श्रद्धालुलाई जनकपुरमा माता सीताको दर्शन गर्न सहज हुनेछ भने लुम्बिनी र बोधगयासहित बौद्ध तथा शिव–शक्ति स्थलबीचको सम्पर्क सञ्जालसमेत विस्तार गरिनेछ ।
यस्तै, उत्तराखण्ड र नेपालबीचको धार्चुला सडक पुलको उद्घाटन तथा बनबसामा एकीकृत जाँच चौकी (आईसीपी) को शिलान्यास गरिएको छ । नेपालतर्फको दोधारा–चाँदनी एकीकृत जाँच चौकीको काम तीव्र गतिमा अघि बढाउने तथा बिहार र उत्तर प्रदेशसँग जोडिएका सडक, रेल र सीमा सम्पर्क सञ्जालका परियोजनालाई नयाँ गति दिने मोदीले बताएका छन् ।
जलविद्युत् र पेट्रोलियम पूर्वाधार
नेपालको स्वच्छ ऊर्जा क्षमतालाई आर्थिक समृद्धिको आधार बनाउन तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ भने अरुण तेस्रो जलविद्युत् आयोजना समयमै पूरा गर्ने प्रतिबद्धता भारतले जनाएको छ ।
त्यसैगरी, मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको लोकार्पण र झापा पेट्रोलियम टर्मिनलको शिलान्यास गरिएको छ ।
तेल आपूर्तिमा चुनौतीका बाबजुद भारतले नेपालमा इन्धन, रासायनिक मल र अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर राखेको मोदीले उल्लेख गरेका छन् ।
नेपालमै आईआईटी क्याम्पस, स्टार्टअप र कृषि–औद्योगिक पार्क
नेपालको युवा पुस्ताको प्रतिभा र ऊर्जामा साझेदारी गर्न भारतले नेपालमै स्टार्टअप इन्क्युबेटर, इनोभेसन हब र भारतीय प्रविधि संस्थान (आईआईटी) को विदेशी क्याम्पस स्थापना गर्ने घोषणा गरेको छ ।
साथै, नेपाली विद्यार्थीहरूका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिको अवसर बढाउने तथा खाद्य प्रशोधन र मूल्य अभिवृद्धि प्रवर्द्धन गर्न नेपालमा कृषि–औद्योगिक पार्क (एग्रो–इन्डस्ट्रियल पार्क) विकासमा सहयोग गर्ने मोदीले बताएका छन् ।
क्रिकेट पूर्वाधार, सिर्जनात्मक सहकार्य र संयुक्त दृष्टिकोण पत्र
खेलकुद, विशेषगरी क्रिकेटमा नेपालमा पूर्वाधार विकास र खेलाडीहरूको प्रशिक्षणमा भारतले सहयोग बढाउने भएको छ । त्यस्तै, आगामी ‘वेभ्स समिट’ मा नेपालका युवा सिर्जनाकर्ताको ठुलो प्रतिनिधिमण्डललाई स्वागत गरिनेछ ।
दुई देशको साझा भविष्यलाई दिशा दिन ‘विकसित भारत’ र ‘समुन्नत नेपाल’ का सङ्कल्प साकार पार्ने खाकासहित ‘संयुक्त दृष्टिकोण पत्र’ समेत जारी गरिएको छ । मोदीले नेपाल र भारतको सम्बन्ध छिमेकीको मात्र नभई आफ्नोपन र अटुट विश्वासको सम्बन्ध भएको उल्लेख गर्दै यी सबै पहलले नेपालको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।