गरिमा विकास बैंकद्वारा नौ स्थानमा रक्तदान, ७१३ युनिट रगत सङ्कलन
कर्पोरट खबर
7:41 am, मंगलबार, मंसिर ८, २०८३
- गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवमा देशका नौ स्थानमा भएको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरे।
- रगत अभाव पूर्ति गर्न आयोजित कार्यक्रमअन्तर्गत बैंकले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।
काठमाडौं । रगतको अभाव भइरहेका बेला गरिमा विकास बैंकले आज देशका नौ ठाउँमा गरेको रक्तदान कार्यक्रममा ७१३ जनाले रक्तदान गरेका छन् ।
बैंकले बिगतका वर्षहरु जस्तै गरी २०औँ वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीका अनुसार मुख्य कार्यालय बालुवाटार कार्यालयमा ८१ , वेनी कार्यालयमा ५०, पोखरा कार्यालयमा १३२ , वालिङ शाखामा ५४ जनाले रक्तदान गरेका छन् ।
यसैगरी बुटवल शाखामा १०१ , कोहलपुर शाखामा १०६, नारायणगढ शाखामा ८३ , जनकपुर शाखामा ४३ र इटहरी शाखामा ६३ जनाले रक्तदान गरेका छन् । बैंकले गत वर्षको वार्षिकोत्सबमा विभिन्न ठाउँमा रक्तदान गरी ६०२ युनिट रगत सङ्कलन गरेको थियो । बैंकका कर्मचारी, ग्राहक, शुभेच्छुकलगायतले रक्तदान गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रगतको अभाव सबै ठाउँमा सधैँ जसो हुने गरेको भन्दै केही हदसम्म अभावलाई पूर्ति गर्ने उद्देश्यले बैंकको हरेक वार्षिकोत्सवमा देशका विभिन्न ठाउँमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको जानकारी दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले समुदायको हितका लागि विभिन्न कार्यक्रमसमेत गर्दै आएको उनले बताए ।
बैंकले वार्षिकोत्सवको अवसरमा गत शनिबार काठमाडौँमा गरिमा ‘रोड रेस’को आयोजनासमेत गरेको थियो । स्वास्थ्यका लागि खेलकुद भन्ने मूल नाराका साथ गरिएको सो कार्यक्रम तेस्रो संस्करण हो ।