काठमाडौं, असोज २६ – फलफूलको ‘राजा’ मानिने किबी फलबाट बनेको वाइन बजारमा आएको छ। धनकुटाको राजारानीमा उत्पादित वाइन फ्याक्ट्रीले आफ्नो पहिलो उत्पादन काठमाडौंमा बिक्री सुरू गरेको हो।
पोषिलो फलको रूपमा रहेको किबीको व्यावसायिक खेती पूर्वी नेपालमा सुरू भएसँगै वाइन उत्पादन सुरू गरी बजारमा ल्याइएको उत्पादकले जनाएका छन्। पहिलो पटक काठमाडौंमा पूर्वी पहाडी जिल्लामा उत्पादन भएको फलको वाइन चखाउन बिक्री सुरू गरेको माउण्ट एभरेष्ट वाइनरीका प्रबन्ध निर्देशक विष्णु बाँस्तोलाले बताए। ‘प्रिन्सेस नामक वाइन बजार ल्याएका छौं,’ उनेले भने।
अनुकूल हावापानीका कारण नेपालको पहाडी क्षेत्रमा किबीको व्यावसायिक खेती गर्न सकिने भन्दै किसानहरूलाई लक्षित गरेर करिब २० करोडको लागतमा वाइन उत्पादन भएको उनले बताए। लगत्तै केही दिनभित्रै पूर्वी नेपालको सहरहरुमा बिक्री सुरू गर्ने बाँस्तोलाले बताए।
‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने। उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ। उद्योगमा करिब दुई सय जनाले प्रत्यक्ष रोजगारी पाइरहेको बाँस्तोला बताउँछन्। ‘उद्योग आफैंले पनि किबी खेतीमा लगानी गरेको छ,’ उनले भने।
FACEBOOK COMMENTS