काठमाडौं, २६ कार्तिक – रूसले उत्पादन गरेको कोरोनाविरूद्धको भ्याक्सिन स्पुतनिक फाइभ ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
रूसको सार्वभौम वेल्थ फन्डले बुधबार अन्तरिम परीक्षणमा भ्याक्सिनको प्रभावकारिता ९२ प्रतिशत देखिएको बताएको हो। अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रूसले आफ्नो भ्याक्सिनबारे विवरण सार्वजनिक गरेको हो।
रूसले गत अगस्टमै स्पुतनिक फाइभ भ्याक्सिनलाई स्वीकृति दिएको थियो। संसारका अरू मुलुकभन्दा पहिला कोरोना भ्याक्सिन बनाउने लक्ष्यका साथ रूसले तेस्रो चरणको परीक्षण बिनै खोपलाई स्वीकृति दिएको हो। त्यसपछि रूसले तेस्रो चरणको परीक्षण गरेको थियो। बुधबार सार्वजनिक गरिएको नतिजा १६ हजार मानिसमा गरिएको परीक्षणमा आधारित हो। उनीहरूलाई भ्याक्सिनका दुबै डोज लगाइएको थियो।
भ्याक्सिन विकासमा महत्वपूर्ण भूमिका खेलेको र संसारभर वितरणको जिम्मा पाएको रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डले भ्याक्सिनका दुई डोज लगाएका मानिसलाई कोरोना संक्रमण हुने सम्भावना ९२ प्रतिशत कम भएको बताएको छ।
‘तथ्यमा आधारित भएर हामीले एउटा प्रभावकारी भ्याक्सिन देखाइरहेका छौं,’ फन्डका प्रमुख किरिल डिमिट्रिएभले भने। अमेरिकाको फुड तथा ड्रग एडमिनिट्रेसनले ५० प्रतिशत प्रभावकारिता भएको भ्याक्सिनलाई स्वीकृति दिन्छ।
